२०८३ साउन ११ सोमबार

भैँसीपालन व्यवसायबाट ८० हजारसम्म कमाइ

ई आर्थिक    शुक्रबार, माघ ११ २०७५
4.8K
Shares
भैँसीपालन व्यवसायबाट ८० हजारसम्म कमाइ

गाईघाट, ११ माघ : पैसा कमाउनका लागि विदेशिनुपर्छ भन्ने होइन, काम गर्ने चाहना भयो भन्ने स्वदेशमै पनि मनग्य आम्दानी गर्न सकिने उदाहरण उदयपुर त्रियुगा नगरपालिका–१६ शाही खोलाका ५५ वर्षीय नैनबहादुर कार्कीले प्रस्तुत गर्नुभएको छ ।

विदेशमा २० वर्षसम्म बसेर पनि सन्तोषजनक कमाइ नभएपछि उहाँले स्वदेशमै भैँसीपालन व्यवसाय शुरु गर्नुभयो । हिजोआज त्यही व्यवसायबाट उहाँ मासिक रु ७० देखि ८० हजारसम्म कमाइ गर्न थालेका छन् ।

कार्की भन्नुहुन्छ,“विदेशमा गएर राम्रो कमाइ गरिन्छ भनेर त्यहाँ लामो समयसम्म बसें तर सोचेजस्तो आर्थिक कमाइ गर्न नसकेपछि गाउँघरमै पुख्र्यौली पेशा भैँसीपालन नै शुरु गरें, अहिले त्यसबाट राम्रो कमाइ हुने गरेको छ ।”

चार वर्षअघि विदेशबाट फर्केपछि रु तीन लाखको लगानीमा तीन भैँसी किनेर लालीगुराँस भैँसीपालन फार्म दर्ता गरी सो पेशा शुरु गरेका कार्कीको गोठमा अहिले आफ्नै लगानीका आठ लैनो भैँसी छन् । एक वर्षदेखि आफूले दूध बिक्री गरेर मासिक रु ८० हजारसम्म आम्दानी गर्न थालेको कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विदेशमा २० वर्ष बसेर कमाइ गरेको रकम आफूले एक वर्षभित्रै भैँसीपालन गरेर कमाइ गर्न सफल भएको छु ।” फार्मबाट उत्पादित दूध नजीकैको पसलदेखि गाईघाटको दूधडेरीमा बिक्री हुने गरेको कार्कीले बताउनुभयो ।

अन्य युवाले परम्परागत भैँसीपालन पेशालाई त्याग्दै अन्य पेशाप्रति आवद्ध हुने गरेको बेला नैनबहादुर भने पुख्र्यौली भैँसीपालन पेशा शुरु गरेर वार्षिक रु पाँचलाख सम्म आम्दानी गर्न थालेका छन् ।

त्रियुगा नगरपालिका– १६ का वडाध्यक्ष मानबहादुर राईका अनुसार अहिले कार्की वडा नं १६ का नै नमूना भैसीपालक कृषक भएको बताउनुहुन्छ । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने नभएर स्वदेशमा परम्परागत पेशाबाट पनि राम्रै आम्दानी गर्न सकिन्छ भन्ने अहिले नैनबहादुर कार्कीले उदाहरण देखाएको शाही खोला चन्द्राप्राविका प्रध्यानाध्यापक गम्बरसिंह बरालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij