२०८३ भाद्र ३० मंगलबार

वैदेशिक रोजगारीमा जानुपर्र्ने बाध्यकारी अवस्थाको अन्त्य हुनुपर्ने

ई आर्थिक    बुधबार, पौस ४ २०७५
4.9K
Shares
वैदेशिक रोजगारीमा जानुपर्र्ने बाध्यकारी अवस्थाको अन्त्य हुनुपर्ने

काठमाडौँ : ट्रेड युनियनमा कार्यरत नेताहरुले वैदेशिक रोजगारीमा जानुपर्र्ने बाध्यकारी अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज नयाँ वानेश्वरमा आयोजना गरेको कार्यक्रममा उनीहरुले सरकारले विदेश जानै नपर्ने अवस्था बनाउन र गएर फर्किएकालाई यहाँ बस्न प्रेरित गर्न कार्यक्रमको आवश्यकता औँल्याएका हुन् ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकका अधिकारका लागि कानून बन्ने र कार्यान्वयन हुने क्रम बढेको बताउनुभयो । श्रमिकका अन्तर्राष्ट्रिय सङ्गठनमा समेत नेपालीको प्रतिनिधित्व बढ्नु महत्वपूर्ण विषय भएको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “देशभित्र भएका श्रमिक मात्रै होइन हामी विश्वभरका श्रमिकका अधिकारका लागि लाग्नुपर्ने समय आएको छ ।”

पेशागत महासङ्घ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेलले सुखी नेपाली समृद्ध नेपाल बनाउन सबै नेपाली मिलेर लाग्नुपर्ने बताउनुभयो । श्रमिकका मुद्दामा सबै एकजुट हुनुपर्नेमा उहाँको जोड छ ।

जिफन्टका उपाध्यक्ष जितेन्द्र श्रेष्ठले दैनिकजसो विदेशमा काम गर्न गएका कामदारको शव आइरहेकाले वैदेशिक रोजगारी सुरक्षित नभएको देखाएको बताउनुभयो । अखिल नेपाल ट्रेड युनियनका गणेश रेग्मीले सामाजिक सुरक्षा ऐन श्रमिकका लागि महत्वपूर्ण भएकामा जोड दिनुभयो । ‘रिटनिङ माइग्रेट ओर्कर’ का अध्यक्ष उत्तम अधिकारीले राज्यले विदेशबाट सीप र लगानी लिएर फर्केकालाई देशभित्रै केही गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँलाउनुभयो ।

मृतकका सम्झनामा दीप प्रज्वलन 

वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका कामदारको सम्झनामा आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । विश्व आप्रवासन दिवस–२०१८ को उपलक्ष्यमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (पिएनसिसी) र प्रवासी नेपाली समन्वय समिति (एनएनएसएम)को संयुक्त आयोजनामा विसं २०७४ मा मृत्यु हुने सात हजार ५६ भन्दा बढीको कामदारको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।

संयुक्त राष्ट्र सङ्घले सन् २००० देखि विश्व आप्रवासन दिवसको घोषणा गरी दीप प्रज्वलनको थालनी गरेपछि विश्वभरका नागरिक समाजले सन् २००१ देखि यसलाई निरन्तरता दिँदै आएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिनुभयो । राष्ट्रसङ्घले सन् २००० को डिसेम्बर ४ तारिखमा डिसेम्बर १८ लाई विश्व आप्रवासन दिवसका रुपमा घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij