काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामीण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको हो ।
बैंकले रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो भने अर्को दिन आँखा परिक्षण तथा मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो ।

त्यस्तै रसुवा जिल्लाकै कालिका गाँउपालिकामा पनि स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ ।
नेपाल नेत्र ज्योति संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
नौकुण्ड स्वास्थ्य शिविरको उद्घाटन रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश नं. ३ का सांसदहरु प्रभात लामा र प्रेम लामाले संयुक्त रुपमा गरेका थिए ।

उक्त स्वास्थ्य शिविरहरुमा कूल ८४६ जनाको बृहत स्वास्थ्य परिक्षण गरिएको थियो जस मध्ये ५४ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो । बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो ।
स्त्री रोग सम्बन्धि उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि अस्पतालमा रिफर गरिएको छ । बैंकबाट उक्त रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको थियो ।