२०८३ साउन ११ सोमबार

‘समयमा योजना पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्छ’

ई आर्थिक    सोमबार, मंसिर २४ २०७५
2.7K
Shares
‘समयमा योजना पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्छ’

पर्वत, २४ मङ्सिर : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समयमा योजनाको निर्माण कार्य पूरा नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गर्नुभएको छ ।

जिल्ला अस्पतालको निर्माणाधीन ५० श्ययाको अत्याधुनिक भवनको आज कुस्माबजारमा शिलान्यास गर्दै उहाँले ठेक्का लगाएपछि काम अलपत्र छाड्ने क्रम बढेको हुँदा काम नगर्र्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गर्नुभएको हो ।

“ठेक्कामा बजेट व्यवस्थापन भएर पनि काम भइरहेका छैनन्”, उहाँले भन्नुभयो, “ठेक्का लिने तर काम नगर्नेलाई कारवाही गर्न नसक्दा अझै विकृति मौलाउन गएको छ ।” समयमा निर्माण कार्य गर्नेलाई पुरस्कृत गर्दै जाँदा मोबिलाइजेसन बुझेर धेरै काममा हात हाल्ने र समयमा पूरा नगर्नेहरु निरुत्साहित बन्ने धारणा उहाँको छ ।
जिल्ला अस्पतालको नयाँ भवन निर्माणका लागि अध्यक्ष तिमिल्सिनाले पहल गर्नुभएको थियो । सो अस्पतालको नयाँ भवन रु २१ करोड १३ लाखको लागतमा निर्माण हुन लागेको हो । अस्पताल ५० श्यया र अत्याधुनिक सुविधासहितको भवन ३० महीनामा पूरा गर्ने लक्ष्य छ । उहाँले सदरमुकाम कुस्माबजार–बालेवा जोड्ने कालीगण्डकीको कल्लेरीमा पक्की पुल बनाइने प्रतिबद्धता जनाउनुभयो । पर्वतको कुस्मामा एक हजार क्षमताको सुविधा सम्पन्न सिटीहल र सटरसहितको तीनतले बसपार्क निर्माण कार्य पनि तत्काल अघि बढाउने तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा, कुस्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने, नेकपाका प्रदेश कमिटी सदस्य केशब कुँवर, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य चुडामणि शर्मा, शहरी विकास तथा भवन विभाग, सङ्घीय आयोजना कार्यालय पोखराका प्रमुख नारायण भण्डारीलगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij