पूर्णप्रसाद मिश्र, काठमाडौँ, २५ कात्तिक : उपत्यकाका विभिन्न स्थानमा छठ मनाउन सरसफाइ एवं सजावट सहित तयारीका काम शुरु भएको छ ।
वाग्मती नदी किनारका विभिन्न स्थान र कमलपोखरीमा छठ मनाउने तयारी भएको हो । गुह्येश्वरी मन्दिर अघिको नदी किनारमा छठको विशेष सफाइका लागि वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्ताको सफाइ गरिएको थियो । नदी किनारको थापाथली, नारायणटार र गोकर्ण क्षेत्रमा तयारी भइरहेको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी शुरु भएको छ । दुई दशक अघिदेखि राजधानीमा छठको रौनक बढ्न थालेको छ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा उपासना गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । यसदिनबाट छठ पर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।
मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यका लगायत पहाडमा मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा विशेष महत्वसाथ यो पर्व मनाउन थालियो ।
यसअघिदेखि नै वाग्मती र विष्णुमती नदीकिनारमा छठ मनाउने संस्कृति शुरु भएको थियो । कार्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका श्याम शर्माले बताउनुभयो । “षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”,उहाँले भन्नुभयो ।
षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहानैदेखि प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको राघवेन्द्र यादव बताउनुहुन्छ ।
“पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो”,उहाँले भन्नुभयो । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर वधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।
यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्वीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउनुभयो । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको एकथरी मत छ ।
सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात भएको अर्काथरीको मत छ । दुई दशकअघिसम्म तराई क्षेत्रमा मात्र मनाइने छठ हाल राजधानी र पहाडी क्षेत्रको नदी, पोखरी एवं तालको किनारमा समेत विधिपूर्वक मनाउन थालिएको छ ।
छठ, छठीमाता र समावेशिता
प्रभाषचन्द्र झा, पोखरा : चार दिनसम्म मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । आज पहिलो दिन बर्तालु महिला वा पुरुषले स्नान गरी चोखो हुने यस विधिलाई ‘नहायखाय’ भनिन्छ । दोस्रो दिन ‘खरना’ भनिन्छ । तेस्रो षष्ठीका दिन नदी वा तलाउमा अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिइएपछि यो पर्व सम्पन्न हुन्छ ।
परिवारको कल्याण, सन्तान प्राप्ति र आरोग्यको कामना गर्दै घरका देवीदेवताका पूजाका साथै छठी माता र सूर्यदेवको पूजा आराधना गरी यो पर्व निष्ठाका साथ मनाइन्छ । यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिनाका साथै छठी माताको पनि पूजा गरिने भएकाले यस पर्वलाई छठ पर्व भनिएको हो ।
छठी माता को हुन्
छठी माताका सम्बन्धमा धार्मिकग्रन्थ ‘मद्यदेवी भागवत् पुराण’ को नवौंँ स्कन्धमा उल्लेख भएअनुसार सन्तान प्राप्तिको मनोकामना राखेर राजा प्रियव्रतले यज्ञ गरे । महर्षि कश्यपले यज्ञको आहूतिका लागि पकाइएका खीर रानी मालिनीलाई प्रसादका रुपमा ग्रहण गर्न दिए । सो खीर खाएपछि निर्धारित समयमा रानीले एक पुत्ररत्न जन्म दिइन् तर त्यो मृतावस्थामा थियो ।
सन्तान प्राप्त भएको खुशी एकै छिनमा शोकमा परिणत भयो । मृत सन्तानको जन्मको खबरले राजा विह्वल भए । सो सन्तानको अन्तिम संस्कारका क्रममा मसान घाटमा राजा प्रियव्रतले प्राण त्याग गर्न खोजे । सोही समयमा दिव्यरथमा सवार एक देवी प्रकट भएर राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै भनिन् ,“म ब्रह्माकी मानस पुत्री देवसेना हुँ । सृष्टिको मूल प्रवृत्तिबाट मेरो उत्पति भएको हो । सोही कारणले मलाई षष्ठी पनि भनिन्छ ।”
उनले भनिन्, “हे राजन् ! मेरो पूजा गर्नू र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनू । मेरो पूजा गरेमा सन्तानको रक्षा हुने, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र दरिद्रता अन्त्य हुनेछ ।” त्यसपछि राजाले देवीको आज्ञानुसार पूजा गरेपछि पुनः पुत्ररत्न प्राप्त भयो । कात्तिक शुक्ल षष्ठी तिथिमा षष्ठी देवीको पूजा शुरु भएको र कालान्तरमा षष्ठी शब्द अपभ्रंश हुँदै छठ वा छठी पर्वको नामले परिचित भएको देखिन्छ ।
सूर्यको पूजा
त्रेता युगमा भगवान् रामले वनवास हुँदा रावणको बध गरेको र वनवासको अवधि पूरा भएपछि कात्तिक शुक्लऔंसीे तिथिमा उनी अयोध्या फर्केकाले सोही साँझ अयोध्यावासीले खुशीयालीमा दीप प्रज्वलित गरेर दीपावली मनाइएको ‘रामायण’मा उल्लेख छ ।
राजकाज सञ्चालन गर्नुअगावै रावणसँग भएको युद्धको दागबाट मुक्त हुन ऋषिहरूले रामलाई कात्तिक शुक्ल षष्ठीे तिथिमा सूर्यको उपासना गर्न सल्लाह दिए । अविलम्ब राजकाज सञ्चालन गर्नुपर्ने भएकाले सोही तिथिमा रामले सूर्यको उपासना गरेर पाप मोचन गरेको र यी दुवै महत्वपूर्ण कार्य एउटै तिथिमा भएकाले संयुक्त रुपमा षष्ठी माता र सूर्यको पूजा गर्न थालिएको विश्वास गरिन्छ ।
यसैगरी सर्वशास्त्रज्ञ शौंनक मुनिले रोगग्रस्त, सन्तानहीन, अल्पायुमा मृत्युलगायत कष्टमा रहेका मानवको दुःख नाशको उपायबारे सूतजीसमक्ष जिज्ञासा राख्दा सोही समयमा उपस्थित भीष्म पितामहले पुलस्त्यमुनिबाट प्राप्त जानकारी सुनाउँदै भने, “एक दुष्ट क्षेत्रीय राजा कुष्ठ र क्षयरोगबाट ग्रसित थिए । सो कष्टबाट मुक्ति पाउनका लागि उनले मृत्युलाई नै वरण गर्नु उत्तम उपाय ठाने । सोही समयमा एक ब्राह्मण राजदरबारमा पुगेपछि राजाले विद्वान् ब्राह्मणसमक्ष आफ्नो शारीरिक कष्टका साथै कतिपय प्रजा पुत्रविहीन रहेको र कतिपयको अल्पायुमा मृत्यु हुने गरेकाले सोको समाधान गर्ने उपाय बताउन आग्रह गरे ।”
त्यसपछि ब्राह्मणले सबै कष्टको निवारण सूर्यदेवको उपासनाबाट मात्र सम्भव रहेकाले कात्तिक शुक्ल पञ्चमी तिथिमा खरना गर्दै षष्ठी तिथिमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजाबारे जानकारी गराएका थिए । सोहीबेलादेखि षष्ठी तिथिमा विधिवत् सूर्यदेवको पूजा गरेपछि राजा र प्रजाको कष्ट निवारण भएको विश्वासमा यो पर्वकोे महत्व बढ्दै गएको उल्लेख छ ।
पर्वको विधि
यस पर्वका बर्तालुले कात्तिक शुक्ल चतुर्थीमा घरको पूजास्थलमा गाईको गोबरले लितपोत गर्छन् । त्यसपछि स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ । पञ्चमी तिथिका दिन ‘खरना’ गरिन्छ । सो दिन बर्तालु दिनभर उपवासमा बसेर बेलुकी नयाँ माटाको चुल्होमा खीर पकाउने गर्छन् ।
घरघरमा देवीदेवताको पूजापाठका क्रममा सो खीर प्रसादका रुपमा चढाइन्छ । परिवारका सदस्यलाई प्रसादका रुपमा वितरण गरेपछि बर्तालुले पनि सो खीर प्रसादका रुपमा ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिने गर्छन् । त्यसपछि लगातार ३६ घण्टाको कठोर उपवासका क्रममा षष्ठी तिथिमा अस्ताउँदो र बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ ।
कृषिमा आधारित पूजा सामग्री
कात्तिक महिनामा हुने यस पर्वलाई कृषिमा आधारित पर्वका रुपमा लिएको पाइन्छ । किसानको आफ्नै खेतबारीमा पाइने भण्टा, मुलासहितको बोट, हल्दीसहितको बोट, उखु, केरा, अलुवा, जुटा, नरिवल, सुथनी, फलपूmल, पान र सुपारीका साथै नयाँ बाँसको टोकरी, पङ्खा, माटाको भाँडो, माटाको कलात्मक हात्तीलाई पूजा सामाग्रीका रूपमा प्रयोग गरिन्छ । माटोको कलात्मक हात्तीको अग्रभागमा दियो बालिन्छ । । यसका साथै. विभिन्न प्रकारका मिठाइ, ठेकुवा, भुसुवा, खजुरियालगायत पकवान चढाइने गरिन्छ ।
किसानले कात्तिक महीनालाई खेतीपातीको अन्तिम महीनाका रुपमा लिन्छन् । दयनीय निम्नवर्गको आर्थिक अवस्थामा सुधार ल्याउन र ती समुदायको शिल्पीको महत्व दर्शाउनका लागि पनि ती सामग्री पर्वमा अनिवार्य गरिएको पाइन्छ ।
डुमले बनाएका बाँसका सामान, कुमालले बनाएका माटाका सामग्री र कृषकले उत्पादन गरेका कृषि सामग्री यो पूजामा राखिने गरिएको पर्वका विश्लेषक कृपानन्द झा बताउनुहुन्छ । विभिन्न समुदायका मानिसले जलाशयको डिलमा सौहार्दपूर्ण वातावरणमा यो पर्व मनाउने भएकाले यस पर्वलाई विभेदरहित, समावेशी एवं साझा पर्वका रुपमा लिन थालिएको छ ।