जिरी । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ ।
दशैंअघि परीक्षण गरिएको केबुलकारदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालिञ्चोक र कालिञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।
कालिञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।

कालिञ्चोक दर्शन लिमिटेडले साढे दुई वर्षअघि निर्माण शुरु गरेको कालीञ्चोक केबुलकार करीब रु. ४५ करोडको लागतमा सम्पन्न भएको हो । केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति रु पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताए।
