२०८३ साउन ११ सोमबार

नेपाली ग्राहकले भारतीय बजारमा भिड

ई आर्थिक    मंगलबार, असोज १६ २०७५
3.5K
Shares
नेपाली ग्राहकले भारतीय बजारमा भिड

विश्वराज पछल्डङ्ग्या, जमुनहा (बाँके) । चाडपर्व नजिकिएसँगै रुपैडिहा बजारमा नेपाली ग्राहकको घुइँचो लागेको छ । किनमेलका लागि दैनिक दुई हजार नेपाली रुपैडिहा पुग्ने गरेका छन् । इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक शिवकुमार ओलीका अनुसार चाडपर्व नजिकिएसँगै किनमेल गर्न रुपैडिहा जाने नेपालीको संख्या अत्यधिक बढेको छ ।

राष्ट्रिय व्यापार मण्डल रुपैडिहाका महासचिव रजा इमाम रिजबीले पछिल्लो समय किनमेल गर्ने नेपालीको संख्यामा अत्यधिक वृद्धि भएको बताए । उनले आफ्नो कपडा पसलमा दैनिक दुई–तीन सय नेपाली किनमेलका लागि आउने गरेको बताए । ‘चाडपर्व आउन थालेपछि व्यापार बढेको छ,’ उनले भने ।

नेपालगन्ज र कोहलपुरमा किनमेल गर्ने ग्राहकको संख्या एकदमै कम रहेको व्यापारीले गुनासो गरेका छन् । नेपालगन्ज–कोहलपुर सडक विस्तारपछि बजारमा चहलपहल कम भएको कोहलपुरका फेन्सी कपडा व्यापारी विनोद शर्माले बताए । उनले चाडपर्व आए पनि कोहलपुरमा चहलपहल बढ्न नसकेको बताए । ‘यहाँका धेरैजसो ग्राहक बस चढेर रुपैडिहा पुग्छन्,’ उनले भने ।

रुपैडिहामा सामान सस्तोमा पाइने दाबी
घरायसी सामान सकिनेबित्तिकै कोहलपुर नगरपालिका–२ की सीता चौधरी किनमेलका लागि भारतीय सीमा बजार रुपैडिहा पुग्छिन् । कोहलपुरबाट बस चढेर सीधै रुपैडिहा पुग्ने गरेकी उनले नुनबाहेक सबै सामान रुपैडिहाबाट किनेर ल्याउने गरेकी छिन् । नेपाली बजारको भन्दा रुपैडिहामा सामान सस्तोमा पाइने भएकाले प्रायजसो सामान रुपैडिहाबाट खरिद गर्दै आएको बताइन् ।

उनले घरायसी प्रयोगका लागि ल्याउने सामानमा भन्सार नलाग्ने र कहीँकतैबाट अवरोध नहुने बताइन् । ‘नेपालको बजारमा अलमल गर्नुभन्दा सीधै रुपैडिहा गएर सामान किनमेल गर्न सजिलो लाग्छ,’ भारतीय सीमा बजार रुपैडिहामा भेटिएकी सीताले भनिन् ।

सीताजस्तै बैजनाथ गाउँपालिका बनकटवाकी सिर्जना पौडेल पनि चाडपर्व र बिहेभोजका लागि चाहिने लुगा रुपैडिहाबाट नै किनमेल गर्दै आएकी छिन् । नेपाली बजारको तुलनामा भारतीय बजारमा महिलाले प्रयोग गर्ने लुगा सस्तोमा पाइने उनले बताइन् । ‘थोरै लुगा किनेर लैजाँदा भन्सार लाग्दैन । कसैले तनाव पनि दिँदैनन्,’ रुपैडिहाको कपडा पसलमा भेटिएकी उनले भनिन् ।

पाँच–छ हजारको सामानमा पनि भन्सार छुट
नेपाली बजारभन्दा सस्तोमा पाइने भन्दै धेरैजसो सर्वसाधारण भारतीय बजारमा सामान किनमेल गर्न रुचाउने गरेका छन् । खुला सिमाना र खुकुलो भन्सार नीतिका कारण सीमाका भारतीय बजार मौलाएको नेपाली व्यापारीले गुनासो गर्दै आएका छन् ।

एक सय रुपैयाँभन्दा माथिको सामानमा भन्सार शुल्क लाग्ने भन्सार नीति भए पनि भन्सार कर्मचारीले घरखर्चका लागि ल्याउने सामानमा छुट दिने गरेका छन् । भन्सार कार्यालयको बाटो भएर ल्याउने पाँच/छ हजारको सामान पनि भन्सारविना नेपाल भित्रिने गरेका छन् ।

घरखर्चका लागि भन्दै भन्सार कर्मचारीले व्यावहारिक रूपमा छुट दिएका कारण किनमेल गर्ने गन्तव्य भारतीय बजार बनेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए । उनले भन्सार कर्मचारी र भन्सार सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाइ नगरेका कारण नेपालीहरू किनमेलका लागि भारतीय बजार जाने गरेको बताए । ‘भन्सारले आफ्नो लक्ष्य मात्र हेर्छ, घरखर्चका नाममा हजारौँ रुपैयाँको सामानलाई समेत छुट दिन्छ,’ उनले भने ।

उनले राज्यले निर्धारण गरेको भन्सार शुल्क लिन नेपालगन्ज भन्सार कार्यालयसँग आग्रह गरेका छन् । राज्यले निर्धारण गरेको भन्सार शुल्क नलिएकै कारण नेपालीहरू भारतीय बजारबाट किनमेल गर्न पल्केको उनले बताए । ‘कर लिने भए सर्वसाधारणसँग पनि लिनुप-यो, नत्र भने व्यापारीलाई पनि विनाभन्सार ल्याउन दिनुप-यो,’ अध्यक्ष वैश्यले भने ।

भन्सार नीतिअनुसार शुल्क लिएका छौँ : प्रमुख भन्सार अधिकृत श्रेष्ठ
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रमेश श्रेष्ठले सरकारले तोकेको भन्सार शुल्क लिँदै आएको दाबी गरेका छन् । उनले नाकामा खटिएका कर्मचारीले उचित निगरानी नगरेका कारण घरायसी प्रयोगका लागि सर्वसाधारणले ल्याएको सामान विनाभन्सार नेपाल भित्रिने गरेको बताए । उनले सिसिटिभी र प्रत्यक्ष अनुगमन गरेर भन्सार शुल्क नतिरी सामान भित्रिन नदिने प्रयासमा रहेको बताए ।

दसैँ लक्षित खसी, बोका आयात न्यून
यसपटकको दसैँका लागि भारतबाट खसी, बोका एकदमै कम आयात भएका छन् । गत वर्ष दसैँलाई लक्षित गरी साउन, भदौ र असोजमा ३९ हजार दुई सय खसी, बोका आयात भएका थिए । यस आर्थिक वर्षको दुई महिनामा १३ हजार एक सय १२ खसी, बोका आयात भएको पशु क्वारेन्टाइन चेकपोस्ट नेपालगन्जका पशु स्वास्थ्य प्राविधिक तिलकप्रसाद आचार्यले बताए । उनले गत वर्षको तुलनामा एक चौथाइ मात्र खसी, बोका आयात भएको बताए ।

 नेपाल र भारतीय बजारमा पाइने सामानको मूल्य उस्तै
सर्वसाधारणले नेपालको तुलनामा भारतीय बजारमा सामान सस्तो पाइने दाबी गरे पनि धेरैजसो सामानको मूल्य समान भएको नेपालगन्जका व्यापारीले दाबी गरेका छन् । भारतीय बजारको भन्दा सस्तो नभए पनि उस्तै मूल्यमा लुगा पाइने गरेको नेपालगन्ज सदरलाइनस्थित जगदीश वस्त्रालयका प्रोप्राइटर जगदीशप्रसाद गुप्ताले बताए । उनले भने, ‘भारतीय बजारमा लुगा सस्तोमा पाइने भ्रम मात्र हो, भ्रममा परेर नेपाली ग्राहक रुपैडिहा पुग्छन् ।’ नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले सस्तोमा सामान पाइने हल्लाका पछि लागेर नेपालीहरू भारतीय बजारमा पुग्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij