२०८३ साउन ९ शनिबार

एस्काभेटर हाँक्ने महिला

ई आर्थिक    सोमबार, असोज १५ २०७५
9.8K
Shares
एस्काभेटर हाँक्ने महिला
अनिश तिवारी, आश्विन १५, २०७५, सिन्धुपाल्चोक — जुरे–लामोसाँघु सडकखण्डको पहिरो । एस्काभेटरले बाटो पन्छाउनु उनको दैनिकी । डोजर चलाउन थालेको १९ वर्ष भयो । मुना घिमिरे तनहुँ आँबुखैरेनीकी हुन् । २०७२ मा जुनियर अपरेटरका रूपमा सरकारी सेवा पसेकी उनी अहिले सडक विभागको हेभी इक्विपमेन्टमा सिनियर अपरेटर छिन् ।

मुलुकमै एस्काभेटर चलाउने पहिलो महिला बन्न उनले निकै संघर्ष गर्नुपर्‍यो ।

स्कुलदेखि ठूला मेसिन, डोजरमा लगाव थियो । ४ दिदीबहिनी । बुवाआमालाई सघाउन काम गर्नुपर्थ्यो । स्थानीय रामशाह माविको ९ कक्षा छाडेर उनी कामको खोजीमा नेपालगन्ज पुगिन् ।
कोहलपुरको हात्तीसार चिसापानीको लामा स्वदेश निर्माण सेवामा रिसेप्सनमा काम पाइन् । ध्यान भने एस्काभेटरतिर थियो ।

कम्पनी सञ्चालकले एस्काभेटर सिक्ने अवसर दिए । ‘त्यही अवसर मेरा लागि बरदान बन्यो,’ उनी भन्छिन्, ‘त्यो सिकाइले मेरो जीवनलाई नयाँ आयाम दियो ।’


एस्काभेटरमा बस्न पाउनुअघि मेसिन धुने, सफा गर्ने, ग्रिज भर्नेजस्ता काम गरेरै मुनाका ६ महिना बिते । मेसिन सफा गर्ने काम गर्दै थिइन् । ‘एकदिन मेसिन चलाउने अपरेटरले जागिर छाडे । एस्काभेटर चलाउने मान्छे नपाएपछि सञ्चालकले सोधे– माटो लोड गर्न सक्छौ ?’ उनी सम्झिन्छिन्, ‘पहिलो पटक कोमात्सु १२० एस्काभेटरबाट माटो लोड गर्दा हात काम्यो । आत्मविश्वास दह्रो भएको अनुभव भयो ।’

बाँकेकै मानखोलामा काम गर्दा कालिका कन्स्ट्रक्सनका प्रबन्धकसँग चिनजानका आधारमा उनी चितवन पुगिन् । ‘बर्दियाको राजापुरमा ५ महिना खर्चेपछि काठमाडौं लागेँ,’ उनले भनिन्, लाइसेन्सको समस्या थियो । ड्राइभिङ इन्स्टिच्युट भर्ना भएर हलुका सवारीको लाइसेन्स लिएँ । २०६२ सालमा मुलुककै पहिलो महिला हेभी इक्विपमेन्ट चालकका रूपमा अनुमतिपत्र पाएको हुँ ।’ तेज कन्स्ट्रक्सनमा काम पाएपछि उनले थप अनुभव बटुलिन् । पढाइ छाडेको १५ वर्षपछि अध्ययनलाई निरन्तरता दिइन् । ‘१५ वर्षपछि प्राइभेट एसएलसी पास गरें,’ उनले भनिन् ।

त्यस्तैमा स्याङ्जा सप्तगण्डकी निर्माण सामग्री सेवाका प्रबन्धक सुरेश श्रेष्ठसँग उनको मन जोडियो । ‘उहाँसँगै विवाह गरें,’ उनले भनिन्, ‘महिला पुरुषभन्दा कम छैनन् भन्ने मैले परिवारमा मात्र नभएर समाजमा देखाएकी छु ।’

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij