कृष्ण रिजाल, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै गए पनि नेपालको रेमिट्यान्स आय भने उच्चदरमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ३३.३ प्रतिशतले घटेको छ । तर, रेमिट्यान्स आय भने ३३ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिको साउनमा मात्रै नेपालमा ७३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम अघिल्लो आवको भन्दा ३३.१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स वृद्धिदर ७ प्रतिशत मात्रै रहेको थियो । खाडीमा रहेका नेपालीको पारिश्रमिक बढेको र डलरको भाउ पनि बढेका कारण रेमिट्यान्स आय उच्चदरमा बढेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।
‘अहिले रेमिट्यान्स आय ३३ प्रतिशतले बढेको छ, जबकि अघिल्लो आवमा यस्तो आय वृद्धिदर ७ प्रतिशत मात्रै थियो,’ उनले भने, ‘डलर मूल्य बढ्नु, विश्व अर्थतन्त्रमा सुधार आउनु, औपचारिक माध्यमबाट विप्रेषण प्रवाह बढ्नु र खाडीमा रहेका नेपालीको ज्याला बढ्नुले रेमिट्यान्स आय उच्चदरले बढाएको हो ।’
वृद्धिले निरन्तरता पाउला ?
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.८ प्रतिशतले बढेको थियो । तर, विदेश जाने नेपालीको संख्या भने घटिरहेको छ । अन्तिम श्रमस्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३३.५ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ । विदेश जाने नेपालीको संख्या घटिरहँदा रेमिट्यान्स आय वृद्धिदरले निरन्तरता पाउला ?
कार्यकारी निर्देशक थापा भन्छन्, ‘नेपालीहरूले जापान, अस्ट्रेलिया, कोरियालगायत मुलुकबाट औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन थालेका छन्, त्यसैले पनि रेमिट्यान्स वृद्धिदरले निरन्तरता पाउने देखिन्छ ।’ अर्कोतर्फ विदेशमा नेपालीहरूको ‘स्टक’नै पर्याप्त भइसकेको उनको भनाइ छ । ‘वैदेशिक रोजगारी स्याचुरेसनमा गइसकेको छ, यसर्थ रोजगारीमा विदेश जानेको संख्या घट्दै जाने नै हो,’ उनले भने, ‘तर, दक्ष कामदर जाने क्रम बढेको छ, औपचारिक माध्यमबाट रकम पठाउने प्रवृत्ति बढेको छ र ज्याला पनि बढिरहेकै छ, जसले गर्दा रेमिट्यान्स आयसमेत बढ्नेछ ।’
बाह्य अवस्था कमजोर
रेमिट्यान्स आय उच्चदरमा बढे पनि नेपालको बाह्य अवस्था कमजोर देखिएको छ । व्यापार घाटासँगै चालू खाता घाटा उच्चदरमा बढेको छ । समग्र शोधनान्तर घाटासमेत बढेको छ । आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा २५ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५ अर्ब ९८ करोड रहेको थियो ।
अघिल्लो वर्षको पहिलो महिनामा ३ अर्ब २९ करोडले घाटामा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ अर्ब ७७ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामै नेपालले १ खर्ब १३ अर्ब रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५९.१ प्रतिशतले बढी हो ।
घट्यो विदेशी लगानी पनि
समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाहसमेत घटेको छ । साउन महिनामा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २९ करोड ५७ लाख रुपैयाँ रहेको छ । जबकि अघिल्लो वर्षको सोही महिनामा प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६१ करोड रहेको थियो । यद्यपि, सोही अवधिमा पुँजीगत ट्रान्सफर भने बढेको छ । अघिल्लो वर्षको साउन महिनामा ६७ करोड ४७ लाख रुपैयाँ रहेको पुँजीगत ट्रान्सफर बढेर यस वर्षको साउनमा १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।
नयाँ पत्रिकाबाट