पानीमाथि तैरिएको उक्त हवाइजहाजका यात्रुलाई स्थानीय डुङ्गाको सहयोगमा तत्कालै सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । बिमानमा यात्रु र चालक दलका सदस्यसहित ४७ जना सवार थिए ।
बिमानमा यात्रारत एकजना यात्रुले डुब्दै गरेको जहाजभित्र पानी पस्न थालेपछि बिमानका कर्मचारी र यात्रुहरु आपतकालीन ढोकाबाट बाहिर निस्केको बताए ।
स्थानीय डुङ्गाहरुले बिमानमा रहेका सबै ४७ जनाको उद्धारका लागि सहयोग गरेका थिए । यो बिमान माइक्रोनेसियाली द्वीपको चूक आइल्यान्ड (द्वीप) मा अवतरण गर्न लागेको थियो ।
बिमानका एक यात्रु बिल जेनेसले एयर न्यूजिनी बिमान धेरै तलबाट उडेको बताए । ‘मैले बिमान यति तलबाट उडेकामा आश्चर्य मान्दै थिएँ । पानीमा झर्नासाथ बिमानको माथिल्लो भागबाट पानी भित्र पस्न थालेको थियो ।’
जेनेसले डुब्दै गरेको बिमानको आपतकालीन ढोकाबाट बाहिर निस्केर पानीमा हाम फालेको बताए । आफूलाई सामान्य चोट लागेको बताउँदै जेनेसले बिमानमा सवार पत्नी पनि चिच्याइरहेको जानकारी दिए ।
यो दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन । बिमान कम्पनीले हवाइजहाज बिमानस्थलमा उत्रनुअघि नै बिमान पानीमा झरेको जानकारी दिएको छ । जेनेसले धावनमार्गमा छोएर पानीमा झरेको बताए ।
उक्त हवार्इजहाज ३० मिटरजति पानीमा डुबेको थियो । बिमान डुब्नुअघि सबै मानिसलाई उद्धार गरिएको थियो ।
सन् २००९ मा अमेरिकाको न्यूयोर्कमा पनि एउटा बिमान हड्सन नदीमा खसेको थियो । तर बिमानका यात्रुलाई हवार्इजहाज डुब्नुअघि नै उद्धार गरिएको थियो । यो घटनालाई ‘हड्सनको चमत्कार’ पनि भनिन्छ ।
बिमान कम्पनीका अनुसार बोइङ ७३७ बिमानमा ३५ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए । कम्पनीले बिमान अवतरण गर्नेक्रममा मौसम बिग्रेर ठूलो पानी परेपछि भिजिबिलिटी कम रहेको जनाएको छ ।
एयर न्यूगिनी पपुआ न्यू गिनीको राष्ट्रिय ध्वजाबाहक बिमान हो । यो कम्पनीले हालैका दिनहरुमा मनिला, सिड्नी र सिंगापुरमा पनि उडान गरिरहेको छ । एएफपी