मुस्लिम बस्तीमा वितरण गरिएको उक्त ग्याँस कुनै कम्पनीबाट उत्पादन गरिएको भने होइन । यहाँ रहेको बधशालाबाट निस्कने फोहोरबाट ग्यास उत्पादन गरेर वितरण गरिएको हो । राँगा बधशालाको फोहर कुहाउनका लागि एक सय घनमिटर क्षमताको बायोग्याँस प्लान्ट निर्माण गरिएको छ । बधशालाको फोहरबाट उत्पादित ग्यास मुस्लिम समुदायका ९ घरपरिवारले खाना, खाजा र कुँडो पकाउनुका साथै एउटा बत्ती पनि बाल्ने गरेका छन् ।
पाइपलाइनबाटै घरघरमा ग्याँस पुगेपछि दैनिक खर्चमा समेत कटौती भएको प्रयोगकर्ताले बताए । पहिले करिब १५ सय तिरेर एलपी ग्यास प्रयोग गर्ने गरेकोमा अहिले बेलघारीका स्थानीयले मासिक ५ सय रुपैयाँमै महिनाभरि ग्यास र बत्तीसमेत बाल्न पाएका छन् । जसले गर्दा उनीहरूको खर्चमा कटौती भएको छ । एक सय घनमिटरको बायोग्यास प्लान्टको क्षमता २५ घर परिवारसम्मलाई खाना पकाउन मिल्ने बेलघारी सामुदायिक बायोग्यास उपभोक्ता समितिका अध्यक्ष धर्मराज विकले जानकारी दिए । “ग्यास प्रयोग गरेवापत एक परिवारले उपभोक्ता समितिलाई ५ सय शुल्क तिर्ने गरेका छन्,” अध्यक्ष विकले भने, “मासिक उठाएको शुल्क कोषमा राखेर मर्मत सम्भारमा खर्च गरेका छौं ।”
बधशालाको फोहोरबाट ग्यास उत्पादन भएपछि बजारको एलपी ग्यास सिलिण्डर विस्थापित भएको विकको भनाइ छ । विकका अनुसार बधशालाको फोहोरबाट उत्पादन भएको ग्यासबाट एकातिर खाना पकाउन प्रयोग गरिएको छ भने अर्कोतिर कम्पोस्ट मल बिक्री गर्ने तयारी समेत भइरहेको छ । दैनिक पाँचवटा राँगा काटिने उक्त बधशालामा दैनिक एक क्विन्टल फोहोर संकलन हुने गरेको छ । कम्पोस्ट मलसमेत बिक्री गरेर समुदायले ग्यास प्लान्टबाट आम्दानीसमेत गर्ने देखिन्छ ।
ग्यास प्लान्ट निर्माण संस्था केपी व्यावसायिक सेवा प्रालिका प्रबन्ध निर्देशक कृष्णप्रसाद ढकालका अनुसार उक्त ग्यास प्लान्ट पश्चिम नेपालमै सबैभन्दा ठूलो र पहिलो सामुदायिक बायोग्यास प्लान्ट हो । जिल्लामा अल्पसंख्यक मुस्लिम समुदायको सबैभन्दा बाक्लो बस्ती बेलघारामीमा छ । यहाँ करिब एक सय मुस्लिम परिवारको बसोबास छ ।
सीमान्तकृत मुस्लिम समुदायलाई माथि उठाउन सरकारले सबै घरधुरीमा पाइपलाइनबाट ग्यास वितरण गर्नुपर्ने त्यस समुदायका युवा समाजसेवी अकबर खान बताउँछन् । “अल्पसंख्यक मुस्लिम समुदायको जीवनस्तर उकास्न राज्यले विभिन्न काम गर्छाैं भन्छ,” युवा समाजसेवी खानले भने, “धेरै ठूलठूला कुरा गर्नुभन्दा पनि यस्ता यस्तै काम गर्यो भने जीवनस्तर उस्कने हो ।” वीरेन्द्रनगर बजार क्षेत्रको अन्य फोहोरलाई समेत व्यवस्थापन गरी मुस्लिम समुदायका सबै घरमा पाइपलाइनबाट ग्याँस वितरण गर्नुपर्ने उनको भनाइ छ । बजारको फोहोर व्यवस्थापनमा समेत चुनौती भइरहेका बेला ठूलो प्लान्ट निर्माण गरी त्यसबाट ग्यास निकाल्न सके सबै पक्षलाई फाइदा हुने खान बताउँछन् ।
कारोबारबाट