२०८३ साउन ९ शनिबार

कोमामा रहेका २२ श्रमिक नेपाल फर्काइँदै

ई आर्थिक    बुधबार, भाद्र ६ २०७५
4.7K
Shares
कोमामा रहेका २२ श्रमिक नेपाल फर्काइँदै

कतारमा ११, साउदी अरबमा ५, बहराइन र युएईमा २/२ जना नेपाली श्रमिक अचेत अवस्थामा जीवनमरणको दोसाँधमा छन्। कोमामा रहेकामध्ये २ जनाको परिवारसँग सम्पर्क छैन भने ठेगाना पनि खुलेको छैन।

कोही त सात वर्षदेखि कोमामा छन्। दुर्घटना तथा रोग लागेर नेपाली श्रमिक कोमामा पुगेका हुन्।

स्वास्थ्य तथा जनसंख्या सचिव डा.पुष्पा चौधरीले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याउने पहल भइरहेको बताइन्। ‘तत्काल दुई जनालाई नेपाल ल्याउने प्रयास भइरहेको छ’, उनले भनिन्।

कोमामा रहेका उनीहरूको उपचारमा सम्बन्धित मुलुकका नेपाली दूतावासले सहयोग गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नयाँ ठाउँमा जाँदा वातावरणीय प्रतिकूलता र मानसिक ‘एडजस्ट’ हुन गाह्रो हुँदा कोमामा गएको हुन सक्ने अनुमान छ।

स्वास्थ्य सचिव डा.चौधरीले कोमामा पुग्नुको कारणबारे बृहत् अनुसन्धान हुनुपर्ने खाँचो औंल्याइन्। श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार कोमामा रहेका २२ जना नेपाली श्रमिकलाई स्वदेश ल्याई उपचार गराउने व्यवस्था मिलाउन निर्देशिका एवं कार्यविधि तयार पारिएको छ।

नेपालको स्वास्थ्य परीक्षण प्रणालीमाथि मलेसिया, कोरियाले प्रश्न उठाउन थालेका छन्। तर स्वास्थ्य सचिव डा.चौधरीले यो कुरा अस्वीकार गर्दै भनिन्, ‘स्वास्थ्य परीक्षण राम्रो नहुँदा श्रमिकहरू विदेश गएर बिरामी भएको तर्क भरपर्दो छैन। वातावरण सहज नहुँदै काममा जाँदा शरीरले सहन सक्दैन। निजी कम्पनीले लामो समयसम्म काममा खटाउँदा पनि स्वास्थ्यमा असर परेको हो।’

श्रमिकसँगै मेडिकल टिम पठाउन सके यस्ता समस्या केही कम हुने सचिव डा.चौधरीको तर्क छ।

स्वास्थ्य मन्त्रालयका प्रमुख अस्पताल प्रशासक डा.दीपेन्द्ररमण सिंहले स्वदेश फर्काइने बिरामीलाई विभिन्न अस्पतालमा राखेर उपचार गराउने विषयमा छलफल भइरहेको बताए। त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालका साथै अन्य अस्पतालमा उनीहरूलाई राख्ने व्यवस्था मिलाइने स्वास्थ्य मन्त्रालयको तयारी छ।

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij