२०८३ साउन १० आइतबार

चितवनमा तीन दिवसीय अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलन हुने

ई आर्थिक    मंगलबार, भाद्र ५ २०७५
8.9K
Shares
चितवनमा तीन दिवसीय अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलन हुने

काठमाडौँ, ४ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले यसवर्ष तीन दिवसीय अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलन आयोजना गर्न लागेको छ ।

गत वर्ष सो क्याम्पसले भैँसी सम्मेलन गरेको थियो । आउँदो कात्तिक ११ देखि १३ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको उक्त क्याम्पसका डिन प्रा डा शारदा थपलियाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । ‘खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग परिपूर्ति’ नाराका साथ सो सम्मेलन हुन गइरहेको छ । सम्मेलनमा पोल्ट्री उद्योगसँग सम्बन्धित नेपाल, भारत, जापान, अष्ट्रेलिया, जर्मनी, बङ्गलादेश, इजिप्टलगायत १० देशका ५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहनेछ ।

कार्यक्रममा विभिन्न विषयका विज्ञले कुखुरा उत्पादन सम्बन्धी नीतिगत र सामाजिक, आर्थिक अवस्था, कुखुराको पोषण स्वास्थ्य व्यवस्थापन, अनुवाँशिकी, प्रजनन व्यवस्थापन तथा जैविक प्रविधि र एकीकृत तथा ग्रामीण कुखुरापालन लगायतका विषयमा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने छन् । भारतीय पोल्ट्री साइन्स एशोसिएसनका उपाध्यक्ष प्रा डा देवेन सापकोटा, जापनिज पोल्ट्री साइन्स एशोसिएसनका उपाध्यक्ष डा जनओकी गोतो, पोल्ट्री अनुसन्धान फाउण्डेसन अष्ट्रेलियाका निर्देशक पिटर ग्रुभ्स, भारतीय कृषि अनुसन्धान परिषद केन्द्रीय कुखुरा अनुसन्धान संस्थानका निर्देशक एससी गिरीलगायतको सहभागिता रहनेछ ।

“नेपालमा पहिलो पटक उक्त सम्मेलन हुन गइरहेको छ,” डा थपलियाले भन्नुभयो । उक्त सम्मेलनबाट भविष्यमा यस क्षेत्रमा विभिन्न प्रविधियुक्त आधुनिक खोजमूलक जानकारीको सम्प्रेषण तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कार्यरत वैज्ञानिक अनुसन्धान निकाय, विश्वविद्यालय, सरकारी एवं गैरसरकारी संस्थाको बीचमा वृहत छलफल सञ्चालन र सहकार्यको विस्तार हुन गई पक्षीजन्य उत्पादन एवं गुणस्तर वृद्धिको लागि महत्वपूर्ण योगदान हुने विश्वास गरिएको छ ।

कुखुरापालनबाट नेपालले वार्षिक रु ३३ अर्ब ७२ करोड अर्थोपार्जन गरिरहेको छ । करीब एक लाख ५० हजार व्यक्तिले रोजगार पाएका छन् भने कूल गार्हस्थ्य उत्पादनको करीब चार प्रतिशत र कूल कृषि गार्हस्थ्य उत्पादन करीब आठ प्रतिशत पोल्ट्री क्षेत्रको रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij