२०८३ साउन ११ सोमबार

सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर घुस्कीमा तनाव, सशस्त्र प्रहरीले गोली चलाउँदा दुई घाइते

ई आर्थिक    बिहिबार, साउन १० २०७५
3.9K
Shares
सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर घुस्कीमा तनाव, सशस्त्र प्रहरीले गोली चलाउँदा दुई घाइते

इनरुवा : सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउपालिका–६ र ७ घुस्कीका बासिन्दा र सशस्त्र प्रहरीबीच तनाव सिर्जना भएको छ । स्थानीय बासिन्दालाई धपाउनका लागि प्रहरीले गोली चलाउँदा दुई जनालाई गोली लागेको छ । सशस्त्र प्रहरीको गोली लागेर हरिनगर–६ घुस्कीका कैजुम मियाँ र महिजान खातुन घाइते भएका छन् ।

घाइते मियाँ र खातुनलाई उपचारका लागि विराटनगर पठाइएको छ । प्रहरीले २० राउण्ड हवाइफायर गरेको स्थानीय बासिन्दाले जिकिर गरेका छन् । सशस्त्र प्रहरीले भने आत्मरक्षाका लागि सात राउण्ड हवाइफाइर र अश्रुग्यास प्रहार गरेको जनाएको छ । घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षकसहितको नेतृत्वमा ९० प्रहरी परिचालन गरिएको छ भने गाउँपालिकाका अध्यक्ष गफार अंसारीको पहलमा वार्ता भइरहेको छ ।

सीमासुरक्षा बल सशस्त्र बेस क्याम्प घुस्कीले आफ्ना प्रहरीसमेत घाइते भएको जिकिर गरेको छ । आक्रोशित बासिन्दाले गरेको आक्रमणबाट सशस्त्र प्रहरी जवान भीम सुन्दास, प्रहरी नायब निरीक्षक दिलबहादुर तामाङ, हवल्दार सुभाष यादव, सशस्त्र प्रहरी हवल्दार नेत्र बस्नेतलगायत घाइते भएको जनाइएको छ ।

घटनापछि अपराह्न साढे ४ बजेदेखि राति अबेरसम्म घुस्की बजार तनावग्रस्त रह्यो । घुस्की बजार क्षेत्र र सशस्त्र तथा नेपाल प्रहरीको चौकी घेराउ गर्नाका साथै दर्जनौँ स्थानमा टायर बालेर स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष रिमझिम भगतले महिलामाथि हातपात गर्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले रासससँग कुरा गर्दै महिलाले गल्ती गर्दैमा यथार्थ कुरा पत्ता नलगाई दुव्र्यवहार गर्नु आपत्तिजनक विषय भएकाले त्यस्ता व्यक्ति वा प्रहरीलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij