काठमाडौं । ग्रील जन्य फलाम र सम्पूर्ण निर्माण सामाग्रीको अनियन्त्रित मूल्य वृद्धिका कारण व्यवसाय संकट्मा परेको ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताउनुभयो । ग्रील तथा स्टील ब्यवसायी संघ कमलपोखरिको साधारण सभाको उदघाटन गर्दै अध्यक्ष कटुवालले सो कुरा बताउनुभएको हो ।
सरकारको प्रभाबकारी अनुगमन नहुँदा केही सीमित स्वार्थी व्यवसायीहरुका कारण उपभोक्ताहरु मारमा परेको पनि सो सभामा उहाँले जानकारी दिनुभयो । भुकम्प प्रभावितहरुले सरकारले दिएको अनुदानको रकमले बढेको मूल्यलार्इ पनि कभर गर्न नसक्दा घर बनाउने काम प्रभाबित भएको उहाँको ठम्याई छ। ग्रील जन्य सामाग्रीको आयातलाई प्रतिस्थापन गरी झण्डै आत्म निर्भर हुन लागेको यो क्षेत्रको सम्बर्द्धन र प्रबर्द्धन गर्ने कुरामा सरकार गम्भीर नभएको उहाँले आरोप लगाउनुभयो ।

कार्यकक्रमको उदघाटन गर्दै अध्यक्ष कटुवालले सबै व्यवसायीहरुलार्इ सरकारको कानुनी दायरामा आएर ब्यवस्थित मर्यादित रुपमा आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै छुट्टै ग्रील ग्रामको व्यवस्था गरी सबै व्यवसायका उद्योग ग्राममा व्यवस्थित गर्न लागिरहेको बताउनुभयो । कार्यक्रममा उहाँले बातावरण मैत्री उद्योग सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष कटुवालले ब्यवसायिको हक हितमा लागेका र योगदान गरेका उत्कृष्ट ग्रील ब्यवसायीहरुलाई सम्मान गर्नुभएको थियो ।
१ लाख ६० हजारलाइ रोजगारी दिंदै आएको ग्रील ब्यवसायलार्इ अझै थप ५० हजार जनशक्तिको खाँचो रहेको कार्यक्रममा जानकारी दिइयो । काठको बिकल्पको रुपमा विकसित ग्रील ब्यवसाय पुर्वाधार बिकासमा अहोरात्र खटिरहेको छ ।
विभिन्न संघ संस्थाका अध्यक्ष र पदाधिकारिको उपस्थिती रहेको भेलाले पुनः पर्शुराम ढुङेलको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ। जसको उपाध्यक्षमा आकाश श्रेष्ठ, सचिवमा कमल शर्मा कोषाध्यक्षमा दीर्घबहादुर खत्री रहनुभएको छ । त्यस्तै सदस्यहरुमा महेश ठाकुर, मैनुदिन शेख र राम प्रवेश शर्मालार्इ निर्ववाचित गरेको छ।