युरोपको मुख्य पर्यटकीय गन्तव्य माल्टामा नेपालीको माग बढिरहेको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए । लन्डनस्थित नेपाली दूतावासले नै कामदार माग प्रमाणीकरण गर्छ । ‘हामीले गत माघमा मात्र ५ सय ५० जनाको प्रमाणीकरण गर्यौं । माल्टा जानेमा महिला–पुरुष बराबर छन्,’ आरणले कान्तिपुरसँग भने, ‘माल्टा अध्ययनका लागि होइन, काम गर्न उचित गन्तव्य बनेको छ ।’क्लिनर, वेटर, अकाउन्टेन्ट क्लर्क र हाउस किपिङमा नेपाली संलग्न छन् । यिनीहरूको मासिक न्यूनतम कमाइ करिब ७ सय ३५ युरो छ ।
नेपालबाट एजेन्टहरूले माल्टामा विद्यार्थीलाई राम्रो अवसर छ भनेर झुक्याए पनि यथार्थमा त्यस्तो नभएको दूतावासको भनाइ छ । नेपाली जाने क्रम बढेपछि नेपाल र माल्टाबीच श्रम सम्झौताका लागि गृहकार्य भइरहेको छ ।
बेलायत तथा गणतन्त्र माल्टाका लागि नवनियुक्त गैरआवासीय राजदूत डा. दुर्गाबहादुर सुवेदीले गत महिना माल्टाकी राष्ट्रपति मारिई लुइज कोलिरो प्रिकासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा यसबारे कुरा उठाउँदा सकारात्मक जवाफ आएको आरणले बताए ।
नेपाल र माल्टाबीच दौत्य सम्बन्ध सन् १९८३ मा कायम भएको हो । काठमाडौंमा माल्टाको अनरेरी कन्सुलेट छ भने लन्डनस्थित नेपाली दूतावासले माल्टासम्बन्धी मामिला पनि हेर्छ ।
राजदूतले माल्टामा पर्यटनमन्त्री, श्रममन्त्रीलगायत रोजगारदाता कम्पनीका प्रतिनिधिसँग भेट गरी नेपाली कामदारको अधिकार, सेवा सुविधा आदिबारे छलफल गरेका थिए ।
माल्टामा नेपालीको कुल संख्या ८ सय ५० हाराहारी र अध्ययनका लागि ६० जति विद्यार्थी छन् । यसअघि विद्यार्थीलाई काम गर्ने अनुमति नभए पनि दूतावासको पहलपछि २० घण्टा प्रतिसाता काम गर्ने व्यवस्था भएको आरणले जनाए ।
लन्डनस्थित दूतावासले यसै वर्ष युरोपेली संस्कृतिको राजधानी भालेटा (माल्टाको राजधानी) मा नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रमसमेत गर्ने भएको छ । भालेटाले सन् २०१८ लाई ‘युरोपियन क्यापिटल अफ कल्चर’ का रूपमा मनाइरहेको छ ।
केवल चार लाख जनसंख्या भएको माल्टा सन् २००४ मा युरोपेली संघको सदस्य बनेको हो । युरोजोन क्षेत्रको सबैभन्दा सानो अर्थतन्त्र रहेको माल्टाको अर्थतन्त्र व्यापार, पर्यटन र उद्योगधन्दामा आधारित छ ।