२०८३ साउन १० आइतबार

संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न राष्ट्रपतिको जोड

ई आर्थिक    मंगलबार, जेष्ठ १५ २०७५
2.7K
Shares
संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न राष्ट्रपतिको जोड

काठमाडौँ, १५ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताउनुभएको छ । सन्देशमा भनिएको छ, “मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ट चाहनालाई साकार पार्ने अवसर प्राप्त भएको छ ।”
नेपालीको आर्थिक–सामाजिक रुपान्तरण हुनुपर्छः उपराष्ट्रपति
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनान्दोलन, सशस्त्र संघर्ष, जनयुद्व र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान दिने सम्पूर्ण शहीदलाई श्रद्धाञ्जलि अर्पण गर्दै संघर्षका क्रममा घाइते हुनुभएका योद्धाको स्वाथ्यलाभको कामना गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले प्रत्येक नेपालीको आर्थिक – सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्व नेपाल निर्माणमा राष्ट्रको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्न तथा देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ उहाँले यस दिवसमार्फत गणतन्त्रको सुदृढीकरण तथा आर्थिक समृद्धिका लागि सबै नेपालीलाई ऐक्यबद्वता र हातेमालो गर्न आह्वानसमेत गर्नुभएको छ ।

हरेक नेपाली सुखी भए गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन्छः सभामुख

सभामुख कृष्णबहादुर महराले गणतन्त्र प्राप्तिका लागि संघर्षका दौरान घाइते हुनुभएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको योगदानको सम्मान गरिने बताउनुभएको छ ।
उहाँले गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै हरेक नेपाली नागरिकले वास्तविक रुपमा गणतन्त्र नेपालको अनुभूति हुने गरी राज्यले देशको विकास, समृद्धि र देशवासीमा आपसी सद्भावको वातावरण बनाउने बताउनुभएको छ ।
“हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ’ सन्देशमा भनिएको छ, “देशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन सके वास्तविक अर्थमा गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ ।”

समतामूलक समाज निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्नेछः देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवस, २०७५ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज शुभकामना सन्देश दिँदै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनान्दोलनमा जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को सफलतापछि काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले गणतन्त्र दिवसले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भनी शुभकामना पनि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij