काठमाडौं । शिखरपोष्ट मिडिया गु्रपको चौथो वार्षिकोत्सव सम्पन्न भएको छ । शिखर अनलाईन टिभीको औपचारिक शुभारम्भसँगै सम्पन्न शिखरपोष्टको उक्त वार्षिकोत्सव सम्पन्न भएको हो ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले मुलुकको सम्बृद्धिका लागि नयाँ संकल्प, नयाँ प्रतिबद्धता र दृढता चाहिएको बताएका छन् । उनले अगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकहरुले यहाँको वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्ने संकल्पका साथ सरकार अघि बढिरहेको उल्लेख गरे ।
‘प्राकृतिक स्रोत र साधनले धनी नेपालको आर्थिक सम्बृद्धिका आधार तय भइसकेको छ’ मन्त्री बस्नेतले ‘‘अहिले एउटा नयाँ संकल्प, नयाँ प्रतिबद्धता र दृढाता चाहिएको छ । नयाँ यसको अगुवाई गर्न सरकार दृढ छ । तर, यो मेरो देश हो मैले पनि केही न केही योगदान गर्नुपर्छ भन्ने संकल्पका साथ अघि बढेको खण्डमा मात्रै हामीले भनिरहेको सम्बृद्धिको सपना पूरा हुनेछ ।’
विकासमैत्री योजना तथा कार्यक्रम तयार गर्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री बस्नेतले यसका लागि मिडिया क्षेत्रको अत्यन्तै महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिए ।
‘आमसञ्चार क्षेत्रमा निकै प्रतिस्पर्धात्मक छ’ मन्त्री बस्नेतले भने– ‘लोकतन्त्रको सुन्दर पक्ष पनि त्यही हो । यो प्रतिस्पर्धात्मक स्थितिमा मिडियाले मुलुकको र जनताको सर्वोपरी हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्दछ ।’
सांसद हेमकुमार राईले विकास निर्माणमा सबैको ध्यान गएको बताउँदै नयाँ नेपालको सपना साकार पार्न सबै पक्ष एकढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए । उनले नयाँ संविधान निर्माण, विभिन्न तहको निर्वाचन तथा प्रदेशस्तरीय कानुनहरु बन्ने क्रममा रहेका कारण कतिपय ठाउँमा समस्या उत्पन्न भएको भन्दै त्यही समस्या समाधानका लागि आफुहरु लागिरहेको पनि बताए ।
उनले कानुन निर्माणको प्रक्रियामै रहेका कारण पर्यटन क्षेत्रका लागि केही समस्या आएको कुरामा आफु जानकार रहेको उल्लेख गर्दै छिट्टै ती समस्या समाधान हुने विश्वासमेत व्यक्त गरे ।

पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले मुलुक विविध क्षेत्र, जाति, समुदायमा भएका विभेदको रुपमा अन्त्य भएपनि सारमा हुन नसकेको भन्दै यस विषयमा सबै पक्ष गम्भिर हुन जरुरी रहेको बताए । उनले सम्बृद्धि नारामा मात्रै नभई ठोस योजना तथा कार्यक्रममार्फत गरिनुपर्नेमा जोड दिए ।
ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले मुलुकको आर्थिक सम्बृद्धिको मुख्य आधार पर्यटन क्षेत्र भएकाले पर्यटन विकास र प्रवद्र्धनका ठोस कार्यक्रम बनाइनुपर्ने बताए । मुलुकमा लगानीमैत्री वातावरण निर्माण गरिनुपर्ने बताउँदै उनले टिम्सलगायत पदयात्रा पर्यटनसँग सम्बन्धित समस्या समाधानमा सरकार गम्भिर हुनुपर्नेमा जोड दिए । पर्यटकको संख्यात्मक एवं गुणात्मक विकासका लागि ऐनकानुन समयसापेक्ष बनाउनुपर्ने भनाइ उनको थियो ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाले मुलुकको विकासका लागि राज्य पक्ष र निजी क्षेत्रको तादम्यता मिल्नुपर्ने बताए । सरकारले मुलुकमै उत्पादन बढाउने खालका उद्योगधन्दालाई प्रश्रय दिनुपर्नेमा उनको जोड थियो ।
शिखरपोष्ट मिडिया ग्रुपका अध्यक्ष प्रकाश खालिङले आर्थिक सम्बृद्धिका लागि मुलुकमै लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट मुलुकको विकासमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा टे«किङतर्फ पम्फा धमला, हिमाल तामाङ, दावा शेर्पा, होटलर्फ दामोदर ढकाल, ह्याण्डिक्राफ्टतर्फ छिरिङ ढुण्डुप, जेम्सतर्फ बर्कट उल्लाह, मिडियातर्फ शिव अधिकारी, हाइड्रोतर्फ जनक खनाल, रहेका छन् भने ट्राभलतर्फ जिएल ट्राभल्स एण्ड टुर्स, संस्थातर्फ सोलु दुधकोशी सरोकार समिति रहेको छ ।
सो कार्यक्रममा फ्रेड फर्वाडर्स एसोसिएशन अफ नेपाल (नेफा) का नवनिर्वाचित अध्यक्ष प्रकाशसिंह कार्की तथा नाटोजका नयाँ कार्यसमितिलाई खादा लगाएर बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।