शुक्रवार, माघ १२, २०७४, काठमाडौं : उपभोक्तासँग परलभन्दा चर्को मूल्य असुलेर विवादमा आएको नेपालस्थित फोर्ड मोटर्सको बिक्रेतासँग सरकारले बयान लिन सुरु गरेको छ। फोर्डको वितरक जीओ अटोमोबाइल्सका वित्त प्रबन्धक तेजकरण जैनले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बिहीबार आधा घण्टा लिएको बयान चित्तबुझ्दो नभएपछि पुनः तीन दिनभित्र सक्कली कागजातसहित जवाफ पेस गर्न निर्देशन दिएको छ।
राजधानीको थापाथलीस्थित फोर्डको आधिकारित बिक्रेता जीओ अटोमोबाइल्स प्राइभेट लिमिटेडका वित्त प्रबन्धक जैनलाई विभागमै बोलाएर बयान लिइएको हो। विभागका अनुगमन टोली संयोजक तथा शाखा अधिकृत रमेशकाशी श्रेष्ठले जीओ अटोमोबाइल्सले इको स्पोर्ट चार पांग्रे सवारीसाधनमा छुटको नाममा उपभोक्तासँग ठगी गरेकाले बयानका लागि जैनलाई बोलाएर बयान लिइएको पुष्टि गरे। उनका अनुसार बिहीबार जैनले पहिलो चरणको बयानका साथै आफ्नो स्पष्टीकरण विभागमा पेस गरेका छन्।
‘तर जैनको बयान र स्पष्टीकरण चित्त बुझ्दो देखिएन्’, श्रेष्ठले भने, ‘उनले आफूसँगै बोकेर ल्याएको कागजात पनि विश्वासिलो भेटिएन।’ छुटका नाममा भएको ठगीका विषयमा चित्तबुझ्दो बयान र पुष्ट्याई हुने कागजात नभेटिएपछि जैनलाई पुष्टि हुने गरी थप कागजातका साथ तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ। विभागले गत सोमबार जीओ अटोमोबाइल्समा अनुगमन गरेको थियो। छुटका नाममा उपभोक्ता ठगी गरेको अभियोगमा वित्त प्रबन्धक जैनलाई बयानका लागि विभागमा बोलाइएको थियो।
करबाहेक वास्तविक बिक्री मूल्य २२ लाख ५८ हजार दुई सय ९२ रुपैयाँ पर्ने फोर्ड कम्पनीको इको स्पोर्ट चार पांग्रे सवारीसाधनमा जैनले पाँच लाख ६४ हजार चार सय १६ रुपैयाँ थप गरी उपभोक्ता बिक्री मूल्य २८ लाख २२ हजार सात सय आठ रुपैयाँ कायम गरेको छानबिनको क्रममा फेला परेको श्रेष्ठले जानकारी दिए।
विभागका अनुसार यसरी २८ लाख २२ हजार बिक्री मूल्यबाट जैनले तीन लाख ३६ हजार दुई सय ८३ छुट दिएर २४ लाख ८६ हजारमा १.५ लिटर पेट्रोल मोडेलको एचआर ६४६०० इन्जिन नम्बर भएको इको स्पोर्ट मोडेलको गाडी सोमबार बिक्री गरेको बिल नम्बर ७५७ बाट फेला परेको छ। ‘छानबिनको क्रममा वास्तविक मूल्यमा एकै पटक पाँच लाखसम्म थप मूल्य जोडेर त्यसमा तीन लाख छुट दिएको भेटिएको छ’, श्रेष्ठले भने,‘ जीओ अटोमोबाइल्सले उपभोक्तासँग छुटको नाममा ठगी गरेको यसबाट प्रस्ट हुन्छ। पुष्टि हुने सम्पूर्ण कागजात लिएर आउन नसकेमा थप अनुसन्धान गरी थुनेर कारबाही प्रक्रिया अगाडि बढाउँछौं।’
प्रतिसवारीसाधन बिक्री गर्दा बिक्रेताले उपभोक्ताबाट गाडीको मूल्यमै सोरुम भाडा, विज्ञापन खर्च, कर्मचारीको पारि श्रमिक, प्रशासनिक खर्च, डिजेल, पेट्रोल र मोबिल, प्रतिगाडी राखेको जग्गा भाडा खर्च (सवारीसाधन बिक्री नहुँदा सोरुममा क्षेत्रफल ओगटेर बस्ने होल्डिङ कस्ट), पेट्रोल, मोबिल, डेलिभरी गर्ने कामदारको खर्च, बिमा र बैंक ब्याज खर्चको नाममा थप रकम जोडेर असुल्ने गरेकाले सवारीसाधन निकै महँगिएको विभागले जनाएको छ।
‘सवारीसाधन बिक्री गर्दा यस्ता शीर्षकमा कति रकम असुल गरिएको छ भनेर पनि सक्कली कागजात लिएर उपस्थित हुन जैनलाई तीन दिनको समय दिएका छौं’, श्रेष्ठले भने,‘जैनले पनि यस्तै विभिन्न शीर्षकमा लाखौं रुपैयाँ असुल गरेको हामीलाई आशंका छ।’
विभागका अनुसार पछिल्लो समयमा सवारीसाधनका सोरुममा अनुगमन गर्दा प्रत्येक गाडीमा विज्ञापनबापत ९६ हजार, प्रशासनिक खर्चबापत ३६ हजार, होल्डिङ गर्दा १० हजार, सडक कर एक लाख, बजारीकरण ७६ हजारलगायत गरी विभिन्न शीर्षकमा लाखौं रुपैयाँ अतिरिक्त उपभोक्तासँग असुल गर्दै आएको आशंका छ। अन्नपूर्ण पोष्टबाट