काठमाडौं । प्राइम कमर्सियल बैंकका सेयरधनीले २७ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको १० औं वार्षिक साधारणसभाले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । बैंकले गत आर्थिक बर्षका नाफाबाट आफ्ना सेयरधनीलाई सो परिणामको बोनस सेयर दिने प्रस्तावलाई साधारणसभाले पारित गरको थियो ।
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार साधारणसभाले पारित गरेको बोनश शेयर वितरण गरे पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ । हाल बैङ्कको चुक्तापूँजी ६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै साधारणसभाले सर्वसाधारणतर्फको सञ्चालकमा गजेन्द्र बिष्टलाई चयन गरेको छ । सञ्चालकका तीन उम्मेद्वारलाई २१ लाख कित्ताको फराकिलो मतान्तरले पछि पार्दै विष्टले बैंकका सञ्चालकमा जित हात पारेका हुन । पुराना र बरिष्ट आर्थिक पत्रकार बिष्टको पक्षमा ६९ लाख कित्ताले मतदान गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी कानुन व्यवसायी बासु रिजालले ४८ लाख कित्ताको मत प्राप्त गरेका थिए । त्यसैगरी अन्य उम्मेद्वार असिम शर्माको २५ हजार र रामकुमार सिटौलाले ५ हजार किताको मत प्राप्त गरेका थिए ।
आर्थिक पत्रकारिताको क्षेत्रमा लामो समय कलम चलाएका बिष्ट बैंकिङ तथा आर्थिक क्षेत्रको विश्लेषण राख्ने क्षमता राख्छन । सञ्चार उद्यमीको रुपमा समेत परिचित बिष्ट डा. रामशरण महत अर्थमन्त्री भएको समयमा उनको प्रेस सल्लाहकारको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।