२०८३ साउन ९ शनिबार

खेती भएको जमिन बढ्यो, खाद्य तथा अन्य बालीको उत्पादन १०.८ प्रतिशतले वृद्धि

ई आर्थिक    सोमबार, मंसिर २५ २०७४
8.3K
Shares
खेती भएको जमिन बढ्यो, खाद्य तथा अन्य बालीको उत्पादन १०.८ प्रतिशतले वृद्धि

काठमाडौं, २५ मंसिर । वैदेशिक रोजगारीले कृषियोग्य जमिन बाँझो रहने चिन्ता बढ्दै गएको समयमा नेपाल राष्ट्र बैंकले कृषिमा प्रयोग भएको जमिनको क्षेत्रफल बढेको तथ्यांक सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आव ०७३-७४ मा ५७ जिल्लामा गरेको आर्थिक गतिविधि अध्ययनअनुसार प्रमुख कृषिबालीहरू खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल र मसलाले ढाकेको कुल क्षेत्रफलमा २.२ प्रतिशतले वृद्धि भएको देखिएको छ । समीक्षा अवधिको अघिल्लो वर्ष बालीले ढाकेको जमिनको क्षेत्रफल ०.५ प्रतिशतले कमी आएको थियो ।

समीक्षा वर्षमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा पनि २.३ प्रतिशतले वृद्धि भएको छ । अर्थात् खाद्यबाहेक अन्य खेती गरिएको जमिनको क्षेत्रफल पनि ०.१ प्रतिशतले बढेको छ ।

सबै उत्पादन बढेका होइनन्
खेती भएको जमिनको क्षेत्रफलमा वृद्धि भए पनि सबै प्रकारको खाद्यान्नको उत्पादन भने बढेको छैन । समीक्षा वर्षमा धान, मकै, गहुँ, कोदो, जौ, आलु, दलहन र तेलहन बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । तर, फापर, उखु, सुर्ती, सनपाट र भटमासले ढाकेको क्षेत्रफलमा भने कमी आएको राष्ट्र बैंकको तथ्यांक छ ।

पोखरा र धनगढीमा कृषियोग्य जमिन घट्यो
राष्ट्र बैंकले काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीलाई आधार मानेर वरपरका ५७ जिल्लामा अध्ययन गरेको थियो । जसअनुसार पोखरा र धनगढी क्षेत्रमा कृषि उपजले ढाकेको भूक्षेत्रमा कमी आएको देखिएको छ । अन्य क्षेत्रहरूमा भने कृषि उपजले ढाकेको क्षेत्रफल बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । विराटनगर, जनकपुर र धनगढी क्षेत्रमा पनि तरकारीले ढाकेको क्षेत्रफल घटेको तथ्यांक छ । अन्य क्षेत्रमा भने तरकारी उत्पादन गर्ने क्षेत्र बढेको छ । त्यस्तै फलफूल तथा मसलाजन्य बालीले ढाकेको क्षेत्रफल काठमाडौं र विराटनगर क्षेत्रमा ह्रास आएको र अन्य क्षेत्रमा वृद्धि भएको देखिन्छ ।

कृषि उत्पादन
समीक्षा वर्षमा प्रमुख कृषि बालीहरू खाद्य तथा अन्य बाली, तरकारी र फलफूल तथा मसलाको कुल उत्पादन ८.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्ता बालीहरूको उत्पादनमा ०.६ प्रतिशतले कमी आएको थियो । त्यस्तै समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन १०.८ प्रतिशतले वृद्धि भएको देखिन्छ छ । सोही अवधिको अघिल्लो वर्ष यस्ता उत्पादनमा १.५ प्रतिशतले कमी आएको थियो । समीक्षा वर्षमा धानको उत्पादन २३.९ प्रतिशत, मकैको उत्पादन ७.५ प्रतिशत तथा गहुँको उत्पादन १०.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो वर्ष धानको उत्पादन १०.४ प्रतिशत तथा गहुँको उत्पादन ५.६ प्रतिशतले घटेको थियो । मकैको उत्पादन भने अघिल्लो वर्ष ३.६ प्रतिशतले बढेको थियो ।

कृषि क्षेत्रमा बढ्दो आशा
सरकारले निरन्तर प्रयासले कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउन सफल भएको राष्ट्र बैंकले जनाएको छ । सरकारले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत कृषि उत्पादकत्व बढाउन विभिन्न योजना अघि सार्ने गरेको छ । परियोजनामूलक, अनुदानमूलक कार्यक्रम र सो कार्यक्रमलाई सघाउ पुर्‍याउन नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमा विभिन्न योजना राख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिने गरेको छ । सोही कारण समग्र कृषि क्षेत्रमा व्यावसायिक आकर्षण बढेको राष्ट्र बैंकको निष्कर्ष छ । कृषि क्षेत्रमा सिँचाइको सुविधा विस्तार र राष्ट्रियस्तरमा निर्माणाधीन आयोजनहरू तोकिएको समयमै सम्पन्न भएमा कृषिले ठूलो फड्को मार्न सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तरकारी बाली घट्यो फलफूल बढ्यो

समीक्षा वर्षमा तरकारी बालीले ढाकेको क्षेत्रफलमा ०.२ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षमा तरकारी बालीले ढाकेको क्षेत्र ५.२ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफलमा भने वृद्धि भएको तथ्यांक छ । यस्तो बाली रहेको जमिनको क्षेत्रफल ४.१ प्रतिशतले वृद्धि भएको जनाइएको छ । अघिल्लो वर्ष यस्ता बालीले ढाकेको क्षेत्रफलमा ५.२ प्रतिशत बढेको थियो । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij