आसामको ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनीबाट ‘गभर्मेन्ट टू गभर्मेन्ट’ सुविधाअन्तर्गत भित्र्याइएको मलको बोरामा कम परिमाणमा मल भेटिएको हो । कम्पनीले डेढ साताअघि मात्रै भित्र्याएको २० हजार मेट्रिक टनमध्ये विराटनगरस्थित क्षेत्रीय कार्यालयमा आइपुगेको ५० हजार बोरा (दुई हजार पाँच सय मेट्रिक टन) कम परिमाणमा भेटिएको हो । स्रोतका अनुसार गोदाममा आइपुगेका ती सबै बोरामा तीन किलोदेखि १० किलो हाराहारीमा कम मल फेला परेको छ।
तिहारदेखि भारतबाट आउन सुरु भएका मलका बोरामध्ये सोमबारसम्म परीक्षण गर्दा करिब तीन हजार बोरा ‘अन्डर वेट’ भएको अवस्थामा फेला पारिएको क्षेत्रीय कार्यालय प्रमुख गोविन्दप्रसाद पराजुलीले दाबी गरे । ‘अहिलेसम्म करिब तीन हजार बोरा कम तौलको भेटिएको छ, हामीले ती बोरा बिक्री गर्न बन्देज गरी छुट्टै राख्न लगाएका छौं’, क्षेत्रीय प्रमुख पराजुलीले भने । कम्पनीसम्बद्ध स्रोतले पराजुलीको भनाइप्रति असहमति जनाउँदै सबै बोरा कम परिमाणको आएको दाबी गरेको छ ।
‘अहिलेसम्म करिब तीन हजार बोरा कम तौलको भेटिएको छ, हामीले ती बोरा बिक्री गर्न बन्देज गरी छुट्टै राख्न लगाएका छौं ।’ -गोविन्दप्रसाद पराजुली, विराटनगर क्षेत्रीय कार्यालय प्रमुख
‘सबै बोरामा तीनदेखि १० किलोसम्म कम परिमाणमा मल भेटिए पनि कम्पनीले उक्त कुरालाई लुकाएर राखेको छ’, स्रोतले भन्यो, ‘कम्पनीका उच्च निकायले केही थानमा मात्रै भेटियो भने पनि ५० हजार बोरा नै कम परिमाणमा आएको छ । कम परिमाणमा आएका बोरा धमाधम विभिन्न डिलरमार्फत किसानलाई बिक्री गर्न आठ वटा जिल्लामा पठाउन थालिएको छ ।’
कम्पनीबाट मल खरिद गरी बिक्री गर्ने एक डिलरले शंका लागेपछि मलका बोराको तौल परीक्षण गर्न लगाएका थिए । त्यही क्रममा मलको बोरा कम तौलको भेटिएको थियो । क्षेत्रीय कार्यालयबाट झापा, इलाम, धनकुटा, सुनसरी, उदयपुर, सिरहा र सप्तरीमा मल वितरण हुँदै आएको छ ।
कम्पनीले ‘गभर्मेन्ट टू गभर्मेन्ट’ सुविधाअन्तर्गत प्रतिकिलो ३३ रुपैयाँ ७६ पैसामा खरिद गरेको उक्त युरिया मल अनुदानमा किसानलाई प्रतिकिलो १४ रुपैयाँमा बिक्री गर्न लागेको छ ।अहिले युरिया मलको हाहाकार भइरहेको अवस्थामा कम्पनीका केही अधिकारीको मिलेमतोमा किसानसँग ५० किलोको खरिद मूल्य लिएर ४० किलोदेखि ४७ किलो मात्रै तौल भएको युरिया मलको बोरा भिडाउने चलखेल सुरु भएको छ ।
स्रोतका अनुसार कम्पनीदेखि मन्त्रालयसम्मका उच्च अधिकारीको मिलेमतोमा किसानलाई ५० किलो भनेर कम तौलको मलको बोरा बिक्री गरेर मलमा करोडौं अनियमितता हुने गरेको छ । यसअघि करिब सात वर्षअघि पनि इन्डियन पोटास लिमिटेड (आईपीएल) सँग खरिद भएको करिब ३५ हजार मेट्रिक टनबराबरको युरिया मलको बोरामा दुईदेखि पाँच किलो कम परिमाणमा मल भेटिएको थियो । त्यो बेला सरकार प्रमुखको दबाबका कारण आईपीएल करिब दुई वर्षपछि क्षतिपूर्ति उपलब्ध गराएको थियो ।
मलको बोरामा कम परिमाणमा मल फेला परेको बारेमा आफूलाई पनि जानकारी प्राप्त भएको कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलले बताए । ‘युरिया मलको बोरामा कम परिमाणमा मल भएको जानकारी मलाई पनि आइपुगेको छु । कम परिमाणमा आएको मलको बोरालाई छुट्ट्याएर छानबिन गर्न मैले निर्देशन दिइसकेको छु’, उनले भने । अन्नपूर्ण पोष्टबाट