१६ भदौ, पोखरा । सामान्यतया बन्दूक, पेस्तोल र राइफल लगायत हतियार सुरक्षाकर्मीसँग हुन्छ । सुरक्षा चुनौती भएको मानिएका व्यक्तिलाई पनि हतियार लिन पाउने व्यवस्था राज्यले गरेको छ ।
कास्कीका २ सय ६ जना व्यक्तिले निजी हतियार लिएका छन् ।
निजी हतियार अघिल्लो वर्षसम्म २ सय १७ जनाले नवीकरण गराएका थिए । बितेको आर्थिक वर्षचाहिँ २ सय ६ जनाले निजी हतियार नवीकरण गरेका छन् ।
जिल्लामा सुरक्षाको प्रमुख कार्यालय प्रशासनमा त्यस्ता हतियार दर्ता र बर्सेनि नवीकरण गर्नुपर्छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) तारानाथ अधिकारीका अनुसार आर्थिक वर्ष २०७३-७४ मा ३३ हतियार नामसारी भएका छन् । अघिल्लो आर्थिक वर्ष ४१ हतियारको नामसारी भएको थियो ।
कसैले व्यक्तिगत रुपमा निजी हतियार लिन राज्यले तोकेको पहिलो क्राइटेरिया भनेको उसमाथि सुरक्षा चुनौती छ भन्ने कुराको औचित्य पुष्टि हुनुपर्ने वा हतियार आवश्यकताको औचित्य पुष्टि हुनुपर्ने हो ।
प्रहरीले दिएको असल चाल चलन भएको रिपोर्ट, मानसिक स्वास्थ्य ठिक छ भन्ने डक्टरी रिपोर्ट र स्थानीय तहको सिफारिससहित हतियार दर्ताका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ ।
सिडिओ तारानाथ अधिकारीका अनुसार अहिले कास्कीमा दर्ता २ सय ६ र नामसारी भएका ३३ हतियारमध्ये १२ बोर र २२ बोरका राइफल र केही पेस्तोल प्रकृतिका हतियार हुन् ।
‘बाँदर तर्साउने लगायत कृषि प्रयोजनका लागि व्यक्तिले हतियार लिएका हुन्छन्,’ सिडिओ अधिकारीले भने । उनका अनुसार हिजोआजलाई कास्कीमा नयाँ हतियार दर्ता भएका छैनन् । अहिले प्रशासनमा दर्ता र नवीकरण भएका पुरानै हुन् । कतिपय किनबेच गरी नामसारी भएका पनि छन् ।
अहिलेलाई विदेशबाट नयाँ हतियार किनेर ल्याई दर्ता गर्ने क्रम नभएको जानकारी पनि सिडिओ अधिकारीले दिए । ‘विदेशबाट हतियार ल्याउनुपर्यो भने गृह मन्त्रालयले भन्सार विभागलाई सिफारिस गरिदिन्छ अनिमात्रै आयात गर्न पाइन्छ,’ उनले भने, ‘सिधै किनेर ल्याएर जिल्लामा दर्ता गर्न पाइन्न ।’
बुधबार पत्रकार सम्मेलन गरी सिडिओ अधिकारीले गत आवमा प्रशासन कार्यालयबाट भएका गतिविधिबारे जानकारी दिएका थिए । त्यस क्रममा जिल्लामा दर्ता-नवीकरण भएका हतियारको संख्या पनि सार्वजनिक गरिएको थियो ।
गत वर्ष अवैध हातहतियार लिनेहरुविरुद्ध ८ वटा मुद्दा पनि प्रशासनमा चलेका थिए । त्यसअघिको वर्ष त्यस्ता मुद्दाको संख्या १ थियो । समाधान दैनिकबाट