२०८३ भाद्र ३० मंगलबार

बदेलको आतंक: लगाएको बाली सखाप पारेपछी कृषक मर्कामा

ई आर्थिक    बुधबार, साउन ३२ २०७४
6.5K
Shares
बदेलको आतंक: लगाएको बाली सखाप पारेपछी कृषक मर्कामा

३२ साउन, भक्तपुर । सूर्यविनायक नगरपालिका–८ र ९ मा पर्ने काँक्राबारी, आशापुरी, नैचाल र ठूलोबस्ती गाउँका मकैबारी जंगली बँदेलले नष्ट गरेका छन् ।

साथै बहुखेती प्रणालीअन्तर्गत मकैबारीभित्र लगाएको सिमी र काँक्रोसमेत मृगले खाइदिएपछि किसान चिन्तित बनेका छन् । जंगली जनावरले बाली नष्ट गरे पनि कुनै निकायले सुनुवाइ नगरेको उनीहरुले गुनासो गरेका छन् ।

बँदेलले विशेषगरी रातको समयमा बारीमा पसेर मकै खाने गरेको सूर्यविनायक नगरपालिका–८, सिपाडोल ठूलोबस्तीका गंगा लामाले बताउनुभयो । “दिनभर जंगलमा गएर बस्ने र राति भएपछि हुलका हुल बँदेल मकैबारी पसेर मकै सोत्तर पार्दछन् ।” उहाँले भन्नुभयो, “विगत चार वर्षदेखि बारीमा लगाएको मकै कहिल्यै टिप्न पाएको छैन ।” मकै जोगाउन राति राति समूह समूहमा ढ्याङ्गग्रो बजाउँदै बारीमा मकै कुर्नु परेको उहाँले बताउनुभयो ।

अर्का कृषक निरु तामाङले हिँउदमा आलु रोपे पनि बँदेलले नै नष्ट गरिदिने गरेको बताउँदै उहाँले भन्नुभयो, “आलु लगायो बारीनै गोरुले जोतेजस्तो गरी बँदेलले जोत्दै लैजान्छ ।”

भक्तपुरको दक्षिण पूर्वी सिमानामा रहेको घना जंगलमा बँदेल, मृग, स्याल, चितुवाजस्ता जंगली जनावरको बसोबास रहेको छ । राति मकैबारी कुर्न जान पनि चितुवा र स्यालको डर हुने गरेको काँक्राबारीमा सन्तु तामाङले बताउनुभयो ।
आशापुरीका ठूलो कान्छा तामाङले जिल्ला कृषि कार्यालय र जिल्ला वन कार्यालयमा बँदेलले बाली नष्ट गरेको जानकारी गराए पनि कुनै राहत नपाएको गुनासो गर्नुभयो ।

जिल्ला कृषि कार्यालयका प्रमुख पूर्ण ढुंगानाले कृषक गुनासो लिएर आउने गरेको स्वीकार गर्दै जंगली जनावरले बालीनाली नष्ट गरे कृषि कार्यालयले नभई वन कार्यालयले क्षतिपूर्ति दिने व्यवस्था भएको जानकारी दिनुभयो ।

बँदेलले बाली नष्ट गरेको सम्बन्धमा जिल्ला वन कार्यालयमा गुनासो आएको बताउँदै सहायक वन अधिकृत सञ्जीव आचार्यले ऐनले बँदेलले बाली नष्ट गरे क्षतिपूर्ति दिने व्यवस्था नभएको बताउनुभयो ।

वन्यजन्तुसम्बन्धी ऐन २०६९ ले हात्ती, गैँडा र अर्नाले बाली नष्ट गरे मात्र क्षतिपूर्तिको व्यवस्था भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij