२०८३ भाद्र ३० मंगलबार

दलभित्र चर्किदै पदीय विवाद : मुख्य नेतापछि हानथाप गर्नेहरु को को हुन् ?

ई आर्थिक    मंगलबार, साउन १७ २०७४
3.2K
Shares
दलभित्र चर्किदै पदीय विवाद : मुख्य नेतापछि हानथाप गर्नेहरु को को हुन् ?

१७ साउन, काठमाडौं । नेपालका अधिकांश राजनीतिक दलभित्र नेताबीच पदीय विवाद छ ।

पार्टी शिर्ष नेतृत्वमा विवाद नभए पनि त्यसपछिको नेता को भन्नेमा भने सबैजसो दलमा हानथाप छ । मुख्य नेतापछि को भन्नेमा नेताबीच देखिएको ‘टसल’का कारण कतिपय अवस्थामा दलका बैठक प्रभावित हुने गरेको छ । आन्तरिक रुपमा नेताहरुको बरियता निर्धारण गर्न नसक्दा कांगे्रस माओवादीदेखि राष्ट्रिय जनता पार्टी राजपा र नयाँ शक्तिसम्ममा विवाद देखिएको छ । एमालेले भने यो विषय पदीय हैसियतअनुसार नै टुंगो लगाएका कारण विवाद त्यति सुन्नमा आएको छैन ।

गत शुक्रबार माओवादी केन्द्रको कार्यालय बैठकमा यो विषयले औपचारिक प्रवेश पयो । माओवादीका एक उच्च नेताका अनुसार कार्यालय सदस्य मणि थापाले माओवादी बैठकमा यो विषयलाई प्रवेश गराएका हुन् । मुख्य तीन नेता अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापापछि उनीहरूसँगै बस्ने नेताको पनि टुंगो लगाउन थापाले माग गरेका थिए ।

प्रतिवेदन बुझाउन सकेन
कांग्रेसमा नेताहरूको वरीयता निर्धारण गरिएको छ । तर, वरीयतामै नेताहरूको असन्तुष्टि छ । गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङसहित पाँच नेताले असन्तुष्टि जनाउँदै अझैसम्म पार्टी बैठकका ‘माइन्युट’ मा हस्ताक्षर गरेका छैनन् । वरीयता विवाद निरुपण गर्न ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा समिति नै बनेको छ । तर, उक्त समितिले नौ महिनादेखि प्रतिवेदन बुझाउन सकेको छैन ।

माओवादी केन्द्रमा दाहालपछि को ?
माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालपछि पदीय हैसियतमा कुन नेता रहने भन्ने टुंगो लागेको छैन । सामान्यतया दाहालपछि नारायणकाजी श्रेष्ठ र उनीपछि रामबहादुर थापा भनेजस्तो देखिन्छ । यद्यपि, यो माओवादीको आधिकारिक निर्णय होइन । यी तीन शीर्ष नेता ‘कुम जोडेर’ पार्टी बैठकदेखि अन्य कार्यक्रममा बसे पनि उनीहरूको छेउमा को बस्ने भन्ने हानथाप छ ।

नयाँ शक्तिमा विवाद
नयाँ शक्तिमा डा. बाबुराम भट्टराईपछिको नेता को हुने भन्नेमा विवाद छ । जसकारण उसले पनि एक वर्षको यो अवधिमा कुनै नेताको पनि वरीयता निर्धारण गरेन । अहिले स्थानीय तहको निर्वाचनपछि त झन् उसले केन्द्रीय समिति नै विघटन गरेर भट्टराईको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ । रामचन्द्र झा, दुर्गा सोव, देवेन्द्र पौडेल, केशव दाहाल, गंगानारायण श्रेष्ठलगायत नेताले भट्टराईपछिको वरीयताका लागि आफूलाई प्रस्तुत गरिरहेका छन् ।

किन निम्तन्छ विवाद ?
विचार, राजनीति र कार्यदिशा समान भए पनि दलभित्रै नेताबीच द्वन्द्व, प्रतिस्पर्धा र सहकार्य भइरहेका हुन्छन् । खास सन्दर्भमा अन्य पार्टीसँग प्रतिस्पर्धाका बेला आन्तरिक पार्टी एकढिक्का भएको देखिए पनि अन्य बेला भने द्वन्द्व बढ्ने राजनीतिशास्त्री कृष्ण पोखरेल बताउँछन् । नेपालका सन्दर्भमा राजनीतिक दलभित्र मुख्य नेतापछि को बन्ने भन्नेमा अलिक बढी नै आन्तरिक विवाद रहेको पोखरेलको बुझाइ छ । त्यस्तो अवस्था आउनुमा भने पार्टी अध्यक्षलाई चुनौती दिन सक्ने गरी अन्य नेताको ‘पावर’ नहुनु प्रमुख कारण भएको उनले बताए ।

‘एकै पार्टीका नेतामा पनि द्वन्द्व हुन्छ, यो जहाँ पनि देखिन्छ । पार्टीभित्रै नेताबीच प्रतिस्पर्धा हुने, जति माथिल्लो तहमा पुग्छन्, त्यति नै अवसर साँघुरिँदै जाने र त्यस्तो साँघुरिने अवसरमा आफ्नो पावर कायम राखिरहन दलभित्रै नेताबीच विवाद, प्रतिस्पर्धा हुन्छन्,’ पोखरेलले भने, ‘अहिले पनि दलमा यही अवस्था देखिन्छ ।’ आजको अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij