२०८३ साउन ११ सोमबार

दार्जीलिङमा खाद्य संकट गहिरिँदै, खाद्यान्न किन्न दार्जीलिवासी नेपाली सीमामा

ई आर्थिक    शुक्रबार, असार ३० २०७४
2.9K
Shares
दार्जीलिङमा खाद्य संकट गहिरिँदै, खाद्यान्न किन्न दार्जीलिवासी नेपाली सीमामा

३० असार, काठमाडौं । गोर्खाल्याण्डको माग राखेर गरिएको आम हड्तालका कारण भारतको पश्चिम बंगालको दार्जीलिङका वासिन्दाले खाद्यान्न अभाव भोग्नु परिरहेको बताइएको छ।

त्यहाँ खाद्यान्न नपाएपछि घन्टौं हिँडेर पूर्वी नेपाल सीमावर्ती बजारहरु पुगी उनीहरुले दैनिक उपभोग्य बस्तु खरिद गरिरहेका छन्। नेपालका सीमावर्ती क्षेत्रमा त्यस्ता बस्तु किन्न आउने दार्जीलिङका वासिन्दाको संख्या दिनहुँ बढिरहेको छ।

गोर्खाल्याण्डको माग राखेर दार्जीलिङमा गरिएको आम हड्ताल बिहिबार २९ दिन पुगेको छ। हड्तालका सुरुवाती दिनमा त्यहाँका सर्वसाधारणले जोगाड गरेका खाद्यान्न उपभोग गरे। तर हड्ताल निरन्तर चलिरहँदा उनीहरु नेपालका सीमावर्ती क्षेत्रमा खाद्यान्न खरिद गर्न आउन थालेका हुन्। इलामको पशुपतिनगर, मानेभन्ज्याङ लगायत क्षेत्रका खाद्यान्न पाइने पसलहरुमा अचेल दार्जीलिङका नेपाली भाषीहरुको घुईंचो लाग्ने गरेको छ।

पशुपतिनगर बजारको एउटा किराना पसलमा भेटिएका उनीहरुमध्ये दार्जीलिङ नाला गाउँबाट चार घन्टा हिँडेर पशुपतिनगर आएका प्रणेश क्षेत्रीले त्यहाँ खाद्यान्न संकट निकै गहिरिँदै गएको बताए ।

त्यस्तै अर्को पसलमा चामल, दाल लगायत बस्तु खरिद गर्दै गरेका दार्जीलिङ पोख्रेबुङका रतन क्षेत्रीले भने, “धेरै समस्या छ। मान्छेले राम्ररी खान पाएका छैनन्। काम गर्न पाएका छैनन्। सामान पाए पनि महँगो छ।”

आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले खाद्यान्न अभावमा राज्य सरकार नै दोषी भएको आरोप लगाएका छन्। उनले भने, “खाद्यान्न राज्य सरकारले रोकेको हो पुलिस लगाएर।”

तर पश्चिम बंगाल सरकारकी मुख्यमन्त्री ममता बेनर्जीले पहाडका जनताले दुःख पाएको भन्दै हड्ताल फिर्ता गरेर वार्तामा आउन यस अघि नै आग्रह गरिसकेकी छन्। आन्दोलनरत मोर्चाले राज्य सरकारको प्रस्तावलाई अस्वीकार गर्दै आएको छ। -बिबिसी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij