२०८३ असोज १ बिहिबार

विदेशबाट फर्किएर जुम्ल्याहा दाजुभाइले शुरु गरे स्वदेशमै व्यवसाय, ३८ लाखको लगानीमा भेडापालन शुरू

ई आर्थिक    आइतबार, असार २५ २०७४
9.4K
Shares
विदेशबाट फर्किएर जुम्ल्याहा दाजुभाइले शुरु गरे स्वदेशमै व्यवसाय, ३८ लाखको लगानीमा भेडापालन शुरू

२५ असार, बेनी(म्याग्दी)। स्थानीय रघुगङ्गा गाउँपालिका– १ बाँदुकका जुम्ल्याहा दाजुभाइले रु ३८ लाखको लगानीमा भेडापालन शुरू गरेका छन् ।

वैदेशिक रोजगारबाट फर्किएर गाउँमै शिक्षा र कृषि तथा पशुपालनमा सक्रिय रहेका लक्ष्मण पुर्जा र राम पुर्जाले बेगखोलाकै विमल फँगामीबाट तीन सय ९ वटा भेडासहितको गोठ खरिद गरेर ब्यावसायिक भेडापालन शुरू गरेका हुन् ।

कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बेगखोलामा व्यावसायिक भेडापालनको सम्भावना रहेकाले ठूलै लगानी गरेर भेडापालनमा सक्रिय भएको लक्ष्मणले बताउनुभयो ।

मुस्ताङको लेतेस्थित माथिल्लो खर्कमा रहेका भेडाको रेखदेखमा राम रहनुभएको छ भने लक्ष्मणले गाउँकै कृष्ण आधारभूत विद्यालयका शिक्षणका साथै गाउँमा पशुसेवा कार्यालयले उपलब्ध गराएको गोठ र जाडोयाममा आवश्यकपर्ने घाँससहितको जोहो गर्दै आउनुभएको छ ।

दुवै दाजुभाइले वैदेशिक रोजगारका शिलशिलामा कतारमा करिब आधा दशक बिताए पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि गाउँ फर्किएका थिए ।

पुर्जासँगै गाउँकै छविलाल शेर्पुजासमेत भेडापालनमा सक्रिय हुनुहुन्छ । शेर्पुजाको दुई सय पाँच भेडा छन् । वार्षिक रु चार लाखसम्म आम्दानी गर्दै आउनुभएका उहाँले पुर्जा दाजुभाइलाई पनि यो पेशाप्रति आकर्षित गराउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका विभिन्न खर्कमा ६५ कृषकका करिब ११ हजार भेडा छन् । पशुसेवा कार्यालयमार्फत विभिन्न कार्यक्रम अन्तर्गत रु ७० लाख भन्दा बढी यस क्षेत्रमा लगानी रहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij