१६ असार, काठमाडौँ । मनोरञ्जन क्षेत्रमा क्रियाशील महिलाले आफ्नो पूर्ण व्यावसायिक सुरक्षा हुन नसकेकोमा दुःखेसो गरेका छन् ।
विश्वास नेपालद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा रेस्टुरेन्ट, डान्स, दोहोरी, क्याबिन तथा साना होटलमा कार्यरत महिलाले व्यावसायिक सुरक्षा माग गरेका हुन् ।
नियुक्तिपत्र, परिचय पत्रबिनै न्यून तलबमा काम गर्नुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन् । मनोरञ्जन क्षेत्रमा कार्यरत महिला तथा बालबालिकाका लागि क्रियाशील विश्वास नेपालका अनुसार अधिकांश रेन्टुरेन्ट नवीकरणसमेत नगरी सञ्चालनमा छन् ।
विश्वास नेपालकी कार्यकारी निर्देशक बालकुमारी रानाले मनोरञ्जन क्षेत्र आफैं व्यवस्थित नहुनु र नियमनकारी निकायको बेवास्ताका कारण महिला झन्–झन् प्रताडित हुने क्रम बढेको जानकारी दिइन् ।
मनोरञ्जन क्षेत्रका महिला श्रम र यौन दुवैमा शोषणमा परेको उनले बताइन् । उनका अनुसार यस्तो शोषणबाट उनीहरूमा कानूनी प्रक्रियामा अगाडि बढाउन आवश्यक कागजात अभाव, बाह्य बेचबिखनको उच्च जोखिम रहने, सामाजिक सम्मान र इज्जत नपाउने, कम उमेरमै विवाह र असुरक्षित गर्भपतन गर्न बाध्य हुनेलगायत असर देखिन थालेका छन् ।
विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले मानसिक समस्यामा परेका महिलालाई मनोविमर्श तथा शारीरिक शोषणमा परेकाको कानुनी उपचारमा सहजीकरण गरिरहेको जानकारी दिइन् ।
सो संस्थाले मनोरञ्जन क्षेत्र व्यवस्थित बनाउँदै महिला श्रमिकको सुरक्षा तथा बालबालिका प्रयोग हुन नदिन विभिन्न कार्यक्रम गर्दै आइरहेको जनाएको छ । आजको राजधानी दैनिकबाट