१४ असार, इलाम । नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले आज यहाँ स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।
इलाम नगरपालिका–७ को बालमन्दिरमा रहेको मतदान केन्द्रमा उनीहरूले मतदान गरेका हुन् ।
एमाले नेता नेम्वाङले बालमन्दिरको ‘ख’ मतदान केन्द्रमा मतदान सुरु भएको केही समयपछि मतदान गर्नुभएको हो । नेम्वाङले करिब साढे सात बजेतिर मतदान गरे । काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले बालमन्दिरकै ‘क’ केन्द्रमा मतदान गरे ।
नेम्वाङ बाहिरिए लगत्तै गुरुङ मतदान गर्न गएका थिए । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सूर्योदय नगरपालिका–९ को राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गर्ने जनाइएको छ ।
इलामको सबै मतदान केन्द्रमा निर्वाचन सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए । मतदान सुरु भएलगत्तै इलाममा पानी पर्न थालेको छ । मतदाता छाता ओढेर मतदानका लागि लाइन बसेका छन् ।
संविधानको ठोस कार्यान्वयनमा नेम्वाङको जोड
पूर्वसभामुख नेम्वाङले संविधानको ठोस कार्यान्वयन सुरु भएको बताउनुभएको छ । मतदानपछि पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेम्वाङले भने, “संविधान कार्यान्वयनको सिलसिलामा ऐतिहासिक कार्य सम्पन्न भयो भन्ने मलाई महसुस भएको छ ।” स्थानीय तहको निर्वाचनले जनतालाई सबल बनाएको नेम्वाङको भनाइ छ ।
“तराई मधेसदेखि हिमाल पहाडसम्मका जनता इतिहासमा नै यति धेरै अधिकार सम्पन्न भएका छन्”, उनले भने, “गाउँघरको विकास गर्ने अधिकार हाम्रो आफ्नो हातमा आएको छ, यो साँच्चिकै ऐतिहासिक कार्य भएको छ ।”
नेम्वाङले लगत्तै तीनै तहको निर्वाचन गर्नका लागि सरकारले तयारी नगरेको आरोप लगाए । प्रदेश र सङ्घको निर्वाचनका लागि आवश्यक कानुन निर्माण, निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउने कामहरू नगरेकाले माघ ७ गते भित्रमा तीन नै तहको निर्वाचन सम्पन्न हुनेमा प्रश्न उठेको बताए ।
निर्वाचन गर्न सकिँदैन भन्ने कल्पनै नगरौँ गुरुङ
यसैगरी, नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले संविधानले दिएको समय सीमा भित्रमा निर्वाचन हुँदैन कि भन्ने कल्पनासमेत नगर्न आग्रह गर्नुभएको छ । मतदानपछि पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “सकिदैन भन्ने कल्पनै नगरौँ, दबाइ खाएको छु, दबाइ लाग्छ भन्ने विश्वास गरौँ ।”
सरकारले बेलैमा तीन तहको निर्वाचन गर्न सोच्नुपर्नेमा उनले जोड दिए । २०१५ सालमा अप्ठ्यारो परिस्थितिमा निर्वाचन गरेको स्मरण गर्दै उहाँले अहिले निर्वाचन धेरै सहज भएको बताए । रासस