२०८३ साउन १२ मंगलबार

फेरी सुनसान राजधानी : दोस्रो चरणको निर्वाचनमा भोट हाल्न छ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिए

ई आर्थिक    मंगलबार, असार १३ २०७४
5.5K
Shares
फेरी सुनसान राजधानी : दोस्रो चरणको निर्वाचनमा भोट हाल्न छ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिए

१३ असार, काठमाडौँ । आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट करिब छ लाख यात्रु बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुने क्रममा काठमाडौँबाट ती प्रदेशमा जाने यात्रुको चाप बढेको जनाएको छ । निर्वाचन हुन लागेका विभिन्न प्रदेशबाट काठमाडौँमा आएर अध्ययन, जागिर तथा व्यवसाय गर्न बसेका अधिकांश मतदाता सम्बन्धित जिल्लामा जाने क्रम असार महिना लागेपछि नै सुरु भएको हो । चुनावी माहोल बढेसंगै शहरबजार सुनसान बनेपनि गाउँतिर भने चुनावको उमङ्ग बेग्लै छ । गाउँमा आफ्नै मान्छे उठेपछि शहरमा बसेका मतदाता गाउँ जाने क्रम बढेको हो ।

महासङ्घका महासचिव सरोज सिटौलाले मतदाताका रुपमा गृह जिल्ला जान चाहने यात्रुको चापअनुसार सवारी साधनको व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँले यात्रुको चाप बढेपछि बाहिर जान पालो कुरेर बसेका गाडीलाई खुकुलो गरिएको र असार १ गतेदेखि अहिलेसम्म सामान्य दिनमा भन्दा अतिरिक्त छ लाख यात्रु बाहिरिएको जानकारी दिनुभयो ।

लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले पनि काठमाडौँ बाहिर जाने कलङ्की, बल्खु, कोटेश्वरलगायत नाकामा यात्रुको भिड देख्न सकिन्छ । आजै साँझसम्म पुग्नुपर्ने भएकाले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य दिनमा भन्दा अहिले बाहिर जाने यात्रुको भिड छ ।

दोस्रो चरणमा ३३३ स्थानीय तहमा हुन लागेको निर्वाचनका केही क्षेत्र तथा स्थानका उम्मेदवारले काठमाडौँका आफ्ना मतदाताको सुविधालाई दृष्टिगत गरी गाडी नै ‘रिजर्भ’ गरेको पनि पाइएको छ । कतिपय गाउँमा आफ्ना भन्नेलाई जिताउन त कतिपय भुकम्पपछि   विस्थापित हुन परेको पीडालाई थाती राखेर भएपनि गाउँको रुप फेर्ने सपना बोकेर गाउँ फर्कने क्रममा छन् ।  यतिबेला शहर छोडेर गाउँ फर्कदै गरेका मतदाताको उत्साह कुनै उत्सवको भन्दा कम  देखिदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij