२०८३ भाद्र ३० मंगलबार

प्रचण्डद्वारा उदयपुरका ४ चुनावी सभालाई सम्बोधन, माओवादी केन्द्रमा नवप्रवेशी १५०० बढीलाई स्वागत गर्दै प्रचण्डले भन्नुभयो– ‘१० वर्ष नेतृत्व पाए देशमा चमत्कारिक आर्थिक विकास गर्छौं’

ई आर्थिक    बिहिबार, असार ८ २०७४
7K
Shares
प्रचण्डद्वारा उदयपुरका ४ चुनावी सभालाई सम्बोधन, माओवादी केन्द्रमा नवप्रवेशी १५०० बढीलाई स्वागत गर्दै प्रचण्डले भन्नुभयो– ‘१० वर्ष नेतृत्व पाए देशमा चमत्कारिक आर्थिक विकास गर्छौं’

असार ८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकै दिन उदयपुरका चार चुनावी सभालाई सम्बोधन गर्नुभएको छ । अध्यक्ष प्रचण्डले उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिकालाई सम्बोधन गर्नु भएको थिए । चुनावी सभालाई सवोधन गर्दै अध्यक्ष दाहालले माओवादीले १० बर्ष नेतृत्व पाए देशमा चमत्कारिक आर्थिक विकास गर्ने बताउनुभयो ।

‘म प्रधानमन्त्री हुँदा देशमा १४ घण्टासम्म लोडसेडिङ थियो ।’ अध्यक्ष दाहालले भन्नुभयो– ‘मैले उज्यालो नेपालको महत्वाकांक्षी योजना अघि सारेँ । सुधारका प्रसस्त कामहरू पनि भए ।’ ऊर्जा क्षेत्रमा गरिएका नीतिगत सुधार र कामले लोडसेडिङ अन्त्य भएको भन्दै आगामी ३ वर्षभित्र १२ सय मेगावाट विद्युत उत्पादन हुदैछ । त्यसपछि लोडसेडिङ इतिहासमा सिमित हुने उहाँको दाबी छ । चाह्यो भने समृद्धि हाम्रै पालामा सम्भव हुने उहाँको भनाई छ ।

beltar3

 

‘मैले सरकारको नेतृत्व गर्दैगर्दा देश अस्तव्यस्त थियो । राजनीतिक झमेला चरम सीमामा थियो । महङ्गी, बन्द, हड्तालले देश आक्रान्त थियो, देश चरम आर्थिक र राजनीतिक संकटमा थियो । तर, मैले सरकारको नेतृत्व गरेपछि देश क्रमशः राजनीतिक स्थिरता, संविधान कार्यान्वयन, विकास र समृद्धिको बाटोतिर गयो । इमान्दारिता र इच्छाशक्ति भयो भने १० महिनाको छोटो अवधिमा यति धेरै काम गर्न सकिने रहेछ भनेर प्रमाणित गरिदिएको छ ।’ माओवादी नेतृत्वको सरकारको दश महिने कार्यकाल नेपालको इतिहासमा स्वर्णीम काल रहेको प्रचण्डको दाबी छ । ‘अहिले नेपालको आर्थिक वृद्धिदर ७।५५ छ, यो विश्वमै तेस्रो हो, आर्थिक वृद्धिमा हामीले छिमेकीलाई पनि उछिनेका छौं’, उहाँले भन्नुभयो, ‘लोडसेडिङ अन्त्य भएको छ, यसले गरे सकिन्छ भन्ने सन्देश राष्ट्र र जनतामा गएको छ । विकास आयोजनाहरुमा ठूलो प्रगति हासिल भएको छ । गाउँ–नगरमा करोडौं रुपैयाँ गएको छ, गणतन्त्रले के दियो भन्नेहरुलाई स्थानीय तहको निर्माण र स्थानीय तहमा पठाइएको खरबौंको बजेटले गतिलो जवाफ दिएको छ ।’

माओवादी बिना स्थानीय तह निर्माण र स्थानीय तहको निर्वाचन दुवै सम्भव नभएको प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो, ‘माओवादी नभएको भए स्थानीय तहको निर्माण नै हुने थिएन, गाउँपालिका र नगरपालिका अनि स्थानीय सरकार बन्दैनथे । कांग्रेस–एमालेहरु गाविसकै चुनाव गर्ने र गाविसमा २५ लाख पठाउने पक्षमा थिए । यो देशमा माओवादी भएका कारण नै त्यो तोडिएको छ, ‘सिंहदरबारको अधिकार गाउँमा आएको छ ।’ कांग्रेस एमालेले भने प्रचारकै भरमा कुहेको पिठो पनि चामलभन्दा महँगोमा बिक्री गर्ने गरेको दाहालको भनाइ थियो ।

beltar2

‘अहिले देशमा जुन संघीय गणतन्त्र छ, जुन स्थानीय तहको चुनाव हुन गइरहेको छ त्यो सब माओबादीका कारण आएको हो’ उनले सम्बोधनको क्रममा भने ‘कांग्रेसले आत्मैदेखि गणतन्त्र स्वीकारेको होइन, गणतन्त्र प्राप्तिको निम्ति चलिरहेको आन्दोलनलाई बयलगाडा चढेर अमेरिका पुगिन्न भन्ने ओलीजी अहिले पनि हुँदै हुनुहुन्छ ।’ अध्यक्ष दाहालले देशका हजारौं सहिदको रगतले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न माओबादीलाई भोट दिन आग्रह गरेका थिए ।

कांगे्रस र एमालेले नचाहँदा नचाहँदै देशमा गणतन्त्र, संघीयता आएको, समानुपातिक समावेशी व्यवस्था, धर्मनिरपेक्षताजस्ता कुरालाई संविधानमा लिपिबद्ध गर्न आफूहरु सफल भएको उनलले जिकिर गरे । आर्थिक वृद्धिदर र लोडसेडिङको अन्त्य आफ्नो सरकारका उपलब्धि भएको उनले बताए ।

राम्रो काम गर्न खोज्दा धेरैले लम्पसारबादी भनेको स्मरण गर्दै दाहालले भारत र चीनसँगको समन्वयमा हुलाकी मार्गको काम सुरु भएको बताए । वान बेल्ट वान रोडको कामको सम्झौता भइसकेको उहाँले बताउनुभयो । आफ्नै प्रयासमा भारतले हुलाकी मार्गको ८०० किलोमिटरको काम सुरु गरिसकेको र दोस्रो चरणको काम पनि सुरु गर्ने तयारी भईरहेको उहाँको भनाई थियो । विपक्षीले जतिसुकै कुरा काटे पनि भारत र चीनसँग सिधा– सिधा कुरा गरेर वैदेशिक सम्बन्ध सुमधुर बनाएको दाहालको दावी थियो ।

देशमा मधेस जलिरहेको, भारत र चीन रिसाइरहेको अवस्था रहेको, संविधान स्वीकार्य नभईरहेका बेला आफू प्रधानमन्त्री भएको स्मरण गर्दै अध्यक्ष दाहालले ती सबै समस्या एक–एक गरी सल्टाउँदै अहिले संविधानलाई सर्वस्वीकार्य गराउने काम भइरहेको बताउनुभयो । संविधानको स्वीकार्यताका लागि नै आफूले स्थानीय तहको चुनाव जवरजस्ती गराएको भन्दै अध्यक्ष दाहालले तर जतिसुकै राम्रा काम गरे पनि विपक्षीहरुले गलत प्रचार मात्र गर्ने गरेको उनले बताए ।

beltar1

सभालाई सम्बोधन गर्दै दाहालले अहिले मुलुकमा नक्कली राष्ट्रबादीहरुको बिगविगी रहेको भन्दै उनले राष्ट्रबाद भनेको के हो भन्ने कुरा खुलस्त हुनुपर्ने बताउनुभयो । ‘राष्ट्रबाद भनेको देशमा बसोबास गर्ने सबै जातजाति, भाषाभाषी, वर्ग, लिङ्ग, समुदायको समग्र एकता हो’ दाहालले भने ‘नेपालमा कुनै एउटा जाति र वर्गलाई समाएर अरुलाई लत्याएर बस्नेहरु आफुलाई सक्कली राष्ट्रबादी हुँ भनेर डङ्का पिटिरहेका छन् ।’

दाहालले स्थानीय त्रियुगा नदी नियन्त्रण र उदयपुर सिमेन्ट उद्योग लिमिटेडको प्रवद्र्धनमा केन्द्रीय सरकार र पार्टीले सहयोग गर्ने कुरामा प्रतिबद्धता जनाएका थिए ।
अध्यक्ष प्रचण्डले चारै स्थानबाट माआवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत समेत गर्नुभएको थियो । एमाले, काँग्रेस, राप्रपाका गरी १५०० बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

चुनावी सभामा माओवादी केन्द्रका तर्फबाट बेलका नगरपालिकाका मेयरका उम्मेदवार रमन भट्टराई र उपमेयरका उम्मेदवार गंगासरी राई, चौदण्डीगढी नगरपालिकाका मेयरका उम्मेदवार कुमारसिंह कार्की, उपमेयरका उम्मेदवार मायादेवी राई, त्रियुगा नगरपालिकाका मेयरका उम्मेद्वार किरण राई, उपमेयरका उम्मेदवार गीता खड्का ९कार्की० र कटारी नगरपालिकाका मेयरका उम्मेदवार के।पी। बराल र उपमेयरका उम्मेदवार मीना कोइरालाले नगरको विकासबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

नगरपालिकाका उम्मेदवारहरु सबैले आ–आफ्नो क्षेत्रमा देखिएका समस्यालाई सहयोग गर्न पार्टी र सरकारको ध्यानाकर्षण गराएका थिए । त्रियुगा नदी कटान, सडक विस्तार, विभिन्न खोलाको कटान रोक्न, खोलाहरुमा पुल पुलेसो बनाउन, कृषि र कृषकका योजनामा सघाउन, उदयपुर सिमेन्ट उद्योग, गाईघाटमा मेट्रो रेल र जिल्लामा भएका पर्यटनका संभावना जस्ता आफ्ना चुनावी योजनालाई सहयोग गर्न प्रचण्डको ध्यानाकर्षण गराएका थिए । उदयपुर जिल्लाका सम्पूर्ण समस्या समाधान गर्न, संभाव्यताहरुलाई सदुपयोग गर्न र विकास निर्माणमा सघाउन अध्यक्ष प्रचण्डले भने आफ्नो पार्टी र सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij