
५८% अर्थात् १९८ तह जित्ने कांग्रेसको दाबी
दोस्रो चरणको निर्वाचनमा कम्तीमा १७० स्थान जितेर पहिलो पार्टी बन्ने प्रारम्भिक आँकलन कांग्रेसको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल नेतृत्वको टोलीले तीनवटै प्रदेशमा खटिएका नेताहरूसँग बुझेर आँकडा तयार पार्दै छ । नेता विमलेन्द्र निधिले ५८% भन्दा बढी तहमा जित्ने दाबी गरे ।

कांग्रेसको आँकलन
प्रदेश नम्बर १
झापामा बहुमत तहमा जित्ने, मोरङ र सुनसरीमा पहिलो पार्टी बन्ने ।
प्रदेश नं. ५
बुटवल, घोराही, तुल्सीपुर र नेपालगन्ज उपमहानगर जित्ने, नवलपरासीका सुनवल र रामग्राम, रुपन्देहीका तिलोत्तमा र सिद्धार्थनगर, दाङको लमहीसहित बहुमत स्थानीय तहमा जित्ने, कपिलवस्तु, बाँके, बर्दियामा पनि पहिलो शक्ति ।
प्रदेश नं. ७
कांग्रेसको गढ भएकाले स्पष्ट बहुमत आउने ।
पहिलो हुने अनुमान छ, ५८%भन्दा बढी तहमा जितेर पहिलो चरणको घाटा पूर्ति गर्छौँ ।
विमलेन्द्र निधि,
नेता, कांग्रेस
२०० तह जितेर पहिलो बन्ने एमालेको लक्ष्य
पहिलो चरणको निर्वाचन परिणामबाट उत्साहित देखिएको एमालेले दोस्रो चरणको निर्वाचनमा बहुमत सिट जित्ने दाबी गरेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ तहमध्ये २ सयदेखि २ सय १० सिटसम्म जित्ने उसको दाबी छ । प्रदेश नम्बर १ का १३७ तहमध्ये विराटनगर महानगरपालिकासहित दुईतिहाइ तहमा जित्ने एमालेको दाबी छ । त्यस्तै, प्रदेश नम्बर ५ का १०९ तहमध्ये ६५ देखि ७० मा र प्रदेश नं. ७ का ८८ तहमध्ये कम्तीमा ६०% स्थानीय तह जित्ने एमालेको आँकलन छ ।
प्रदेश नम्बर १ मा २ तिहाई
प्रदेश नम्बर १ का १ सय ३७ स्थानीय तहमध्ये एमालेले महानगर, उपमहानगरसहित २ तिहाई जित्ने दावी गरेको छ । ९२ भन्दा बढी सिट जित्ने आँकलन गरिएको आचार्यले जनाए । १४ जिल्लामध्ये धेरै जिल्लामा कांग्रेस र माओवादी केन्द्र तथा कतिपय जिल्लामा फोरम र राप्रपाको गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा रहेको छ । ‘धनकुटा र भोजपुरमा त एमालेविरुद्ध चार-पाँच पार्टी मिलेर गठबन्धन बनाएका छन् । तर हामी त्यस्तो अप्राकृतिक गठबन्धनलाई पराजित गरेर आश्चर्यचकित पार्नेगरी २ तिहाई सिट जित्दैछौं’, प्रदेश नम्बर १ का संयोजक समेत रहेका आचार्यले भने ।
अधिकांश जिल्लामा एमाले एक्लै भीड्दै
तेह्थुम, ताप्लेजुङ, इलाम, मोरङ, झापा, खोटाङ, उदयपुर, सोलुखम्बु, ओखलढुंगा, भोजपुर, र धनकुटासहित जिल्लाका स्थानीयतहमा कांग्रेस र माओवादी केन्द्रको तालमेल छ । भोजपुर र धनकुटामा फोरम र राप्रपाका साथै संघीय लिम्बुवान पार्टी कांग्रेस–माओवादी केन्द्रले बनाएको गठबन्धनमा सामेल छन् । अधिकांश जिल्लामा गठबन्धनसँग प्रतिस्पर्धामा रहेको एमालेले बिराटनगर महानगरपालिकामा भने लोकतान्त्रिक फोरमसँग तालमेल गरेको छ ।
५ नम्बरमा ६५ प्रतिशत जित्ने दावी
एमालेले प्रदेश नम्बर ५ का १ सय ९ स्थानीय तहमध्ये ६५देखि ७० तहमा जित्ने प्रारम्भिक आँकलन गरेको छ । ‘हामी कम्तीमा ६० देखि ६५ प्रतिशतसम्म प्रमुख, उपप्रमुख जित्छौं’ केन्द्रीय सदस्य खिमलाल भट्टराईले भने । प्रदेश नं. ५ का १२ मध्ये १० जिल्लामा पहिलो हुने प्रारम्भिक आँकलन एमालेको छ । रुपन्देही, कपिलबस्तु, गुल्मी, अर्घखाँची, नवलपरासी, दाङ, बाँके, बर्दिया र पाल्पालगायतका जिल्ला बहुमत जित्ने सूचीमा छन् । रोल्पा र रुकुममा भने जित्ने सम्भावना कम रहेको एमालेको मुल्याङ्कन छ ।
तीन उपमहानगर जित्ने सूचीमा
एमालेले ४ उपमहानगरपालिकामध्ये बुटवल, तुल्सीपुर र घोराही जित्ने सूचीमा राखेको छ । बुटवलमा कांग्रेस–माओवादी केन्द्रले गठबन्धन बनाएका छन् भने एमाले एक्लै मैदानमा छ । नेपालगञ्जलाई भने जित्ने सम्भावना भएको सूचीमा राखेको छ ।
प्रदेश नं. ७ मा ६० प्रतिशत जित्ने दावी
प्रदेश नं. ७ का ८८ तह मध्ये कम्तिमा ६० प्रतिशत जित्ने दावी गरेको छ । ‘हामीले मात्र भनेको होइन, विभिन्न संघ–संस्थाले पनि एमालेले ६० प्रतिशत र बाँकी अरुले जित्ने सर्भेक्षण नतिजा सार्वजनिक गरिहेको छन’ केन्द्रीय सदस्य झपट रावलले भने, ‘विगत निर्वाचनको तुलनामा धेरै राम्रो परिणाम आउनेगरी पार्टीको अबस्था मजबुद बन्दै गएको छ ।’
धनगढी उपमहानगर पनि जित्ने सूचीमा
विगतमा तुलनात्मक रुपमा कमजोर मानिने धनगढी उपमहानगरपालिकालाई एमालेले जितको सूचीमा राखेको छ । कैलाली, अछाम, बझाङ, बाजुरा, डोटीमा बहुमत सिट जित्ने तथा कञ्चनपुर र दार्चुलामा पनि पहिलो बन्न सकिने एमालेको आन्तरिक मूल्यांकन छ । माओवादी केन्द्र र राप्रपाबाट केन्द्रीय नेताहरु नै एमाले प्रवेश गरेकाले पनि अबस्था सुदृढ बन्दै गएको रावलको दाबी छ ।
एमाले आँकलन
प्रदेश नम्बर १
स्थानीय तह : १३७, दाबी : ९०–९५
प्रदेश नम्बर ५
स्थानीय तह : १०९, दाबी : ६५–७०
प्रदेश नम्बर ७
स्थानीय तह : ८८, दाबी : ४८–५५
६० प्रतिशतभन्दा बढी स्थान जित्ने लक्ष्य छ, सबै चरणको नतिजा आउँदा एमाले पहिलो दल बन्छ ।
भीम आचार्य,
सचिव, एमाले
१२० भन्दा बढी तह जित्ने माओवादी दाबी

माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा झन्डै १ सय २० स्थानमा जित्ने दाबी गरेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ तहमध्ये एकतिहाइमा जित्ने आँकलन माओवादीको छ ।
तीनवटै प्रदेशका इन्चार्जले गरेको दाबीअनुसार प्रदेश नं. १ का १३७ मध्ये ५० देखि ५५ तहमा, ५ का १०९ मध्ये ४६ तहमा र ७ का ८८ मध्ये २५ देखि ३० तहमा पार्टीले जित्नेछ । पहिलो चरणको निर्वाचनको समीक्षासहित विशेष अभियानमा चलाइएकाले पार्टीका पक्षमा राम्रो परिणाम आउने उसको विश्वास छ । माओवादी प्रदेश नम्बर १ का इन्चार्ज गोपाल किरातीले बताए ।
‘पहिलो चरणमा चुनावको अनुभव त्यति थिएन, अहिले केन्द्रीय कार्यालयबाटै गम्भीर समीक्षा गर्दै चुनावमा होमिएका छौँ,’ किरातीले भने, ‘खर्च बढे पनि चुनावी अभियानमा लाग्ने लामो समय मिल्यो, जनताको बीचमा राम्रैसँग पुग्न पाइएको छ । सुखद नतिजा नै आउँछ ।’
प्रदेश नं. ५ मा खटिएका माओवादी नेता चक्रपाणि खनालले पार्टीको प्रचार अभियान गाउँ तहसम्मै पुगेको, कमजोर रहेका स्थानमा तालमेल गरी निर्वाचन लडेका कारण अपेक्षित नतिजा ल्याउने बताए । ‘कमजोर रहेका स्थानमा तालमेल गरेर निर्वाचन लड्दै छौँ, पार्टी संगठन पनि योबीचमा गाउँ, वडा तहसम्मै पुर्याउन सफल भयौँं,’ खनालले भने, ‘यस हिसाबले पनि नतिजा पहिलो चरणको भन्दा राम्रै आउनेमा हामी विश्वस्त छौँ ।’
माओवादीले प्रदेश नं. ७ मा पार्टी एजेन्डा, उम्मेदवार छनोट र नेता–कार्यकर्ताको परिचालन व्यवस्थित बनाउन सकिएकाले परिणाम अपेक्षित आउने जिकिर गरेको छ । इन्चार्ज लेखराज भट्टले निर्वाचनले पार्टीको संगठनलाई पुनर्ताजगी गरेकाले पहिले गुमेको जनमत फर्किन थालेको बताए ।
‘परिणाम राम्रै आउँछ, प्रदेश नं. ७ मा हामी एक्लै चुनावी प्रतिस्पर्धामा छौंँ,’ भट्टले भने, ‘संगठन पुनर्ताजगी हुँदै गएकाले पनि नतिजा राम्रै आउँछ ।’
माओवादी आँकलन
प्रदेश नम्बर १
स्थानीय तह : १३७, दाबी : ५०–५५
प्रदेश नम्बर ५
स्थानीय तह : १०९, दाबी : ४६
प्रदेश नम्बर ७
स्थानीय तह : ८८, दाबी : २५–३०
जहाँ जुन पद लिएर जितिन्छ, त्यस्तै गर्ने नीति छ, त्यसले प्रदेश र केन्द्रको चुनावमा बल पुग्छ ।
पम्फा भुसाल, प्रवक्ता,
माओवादी केन्द्र
एक उपमहानगरसहित ५ मेयर र २५ अध्यक्ष जित्ने राप्रपाको दाबी
राप्रपाले दोस्रो चरणको निर्वाचनमा एक उपमहानगरसहित ५ मेयर र २५ गाउँपालिका अध्यक्ष जित्ने दाबी गरेको छ । नेताहरूलाई जिल्ला–जिल्लामा खटाइएकाले दोस्रो चरणको निर्वाचनमा सुधार आउने राप्रपाको विश्वास छ । प्रवक्ता रोशन कार्कीले अहिलेसम्म एक उपमहानगरसहित ५ नगरपालिका र २५ गाउँपालिकामा जित्ने रिपोर्ट केन्द्रमा आएको बताइन् ।
राप्रपाले नेपालगन्ज उपमहानगरपालिकामा महामन्त्री डा. धवलशमशेर राणालाई मेयरको उम्मेदवार बनाएको छ । राणाले जित्ने आँकलन राप्रपाको छ ।
संघीय फोरम आन्तरिक अध्ययनमै
संघीय समाजवादी फोरमले दोस्रो चरणको निर्वाचनमा कति स्थानमा पार्टीले जित्न सक्छ भन्ने विषयमा जिल्लाको रिपोर्ट अध्ययन गरिरहेको जनाएको छ । अध्ययनपछि मात्रै कति सिट जित्न सकिन्छ भन्ने आँकलन गर्न सकिने नेता शिवजी यादवले बताए ।
एकल र तालमेलसमेत गरेर उम्मेदवारी दिइएको उनले जनाए । ‘उम्मेदवारी आधिकांश स्थानमा दिएका छौँ, तर कति स्थानमा जित्छौँ भन्ने विषयमा आन्तरिक अध्ययन भइरहेको छ,’ यादवले भने, ‘केही दिनमा हामी आँकलन गर्छौँ ।’ नयाँ पत्रिकाबाट