२०८३ साउन ९ शनिबार

दोस्रो चरणको स्थानीय तह निर्वाचन : महानगर र उपमहानगरमा कस्ता-कस्ता छन् उम्मेदवार ?

ई आर्थिक    सोमबार, असार ५ २०७४
4.2K
Shares
दोस्रो चरणको स्थानीय तह निर्वाचन : महानगर र उपमहानगरमा कस्ता-कस्ता छन् उम्मेदवार ?

५ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आइतबार देशभर उत्साहजनक ढंगले उम्मेदवारी दर्ता भएको छ । दलहरूले मर्यादित र व्यवस्थित ढंगले शान्तिपूर्ण रुपमा मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार असार १४ गते हुने निर्वाचनमा ३५ जिल्लाका ३३४ स्थानीय तहमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता भएको छ ।

दोस्रो चरणमा विराटनगर महानगर र धरान, इटहरी, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज र धनगढी गरी ७ उमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुन लागेको आयोगले जनाएको छ । ती तहमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता छन् । आयोगका अनुसार सबै तहका ८ हजार ३ सय ६४ मतदान केन्द्रमा १ लाख ६३ हजार ८ सय २३ सुरक्षाकर्मी र ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको छ ।

महानगर र उपमहानगरमा कस्ता छन् उम्मेदवार ?

विराटनगर महानगर

विराटनगर महानगरपालिकमा ७ स्वतन्त्रसहित १४ जनाले मेयर र ५ स्वतन्त्रसहित १० जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस एक्लै चुनावी मैदानमा छ । एमाले र लोकतान्त्रिक फोरम तथा माओवादी र संघीय समाजवादी फोरमबीच तालमेल भएको छ । मेयरमा एमालेका विनोद ढकाल र उपमेयरमा लोकतान्त्रिक फोरमबाट सूची चौधरीले उम्मेदवारी दिएका छन् ।

कांग्रेसले मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई अघि सारेको छ । संघीय समाजवादीबाट मेयरमा उमेश यादवले र उपमेयरमा माओवादीकी नमिता न्यौपानेले उम्मेदवारी दिएका छन् । त्यस्तै, राप्रपाबाट प्रह्लादप्रसाद साह, मालेबाट लिलोमोहन राजवंशी, नेपाल समावेशी पार्टीबाट गोपालप्रसाद गिरी, चुरेभावर राष्ट्रिय एकता पार्टीबाट घनश्याम टन्डनले मेयरमा उम्मेदवारी दिएका छन् ।

धरान उपमहानगर

एमाले र कांग्रेस एक्लाएक्लै भिडिरहँदा माओवादी केन्द्रले संघीय समाजवादी फोरमसँग तालमेल गरेको छ । कांग्रेसबाट मेयरमा तिलक राई, उपमेयरमा श्यामा रेग्मी, एमालेबाट तारा सुब्बा मेयर र मञ्जु भण्डारी उपमेयरका उम्मेदवार छन् । माओवादी केन्द्रले मेयरमा अइन्दविक्रम बेघालाई र समाजवादी फोरमले उपमेयरमा पारस काङमाङलाई उम्मेदवार बनाएको छ ।

बुटवल उपमहानगर

बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । मेयरमा कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा माओवादीका जगतबहादुर पोखरेल उम्मेदवार बनेका छन् । एक्लै मैदानमा उत्रिएको एमालेका तर्पmबाट मेयरमा सोमराज सुवेदी र उपमेयरमा गोमा आचार्य उम्मेदवार छन् ।

धनगढी उपमहानगर

कांग्रेसले नृपबहादुर वड मेयर र सुशीला भट्ट मिश्रलाई उपमेयरको उम्मेदवार बनाएको छ । एमालेले मेयरमा दुर्गाप्रसाद जोशी र उपमेयरमा रुक्मणि देवकोटालाई, माओवादी केन्द्रले रामसमज रानालाई मेयर र शान्ति अधिकारी क्षेत्रीलाई उपमेयरमा अघि सारेको छ । त्यस्तै, राप्रपाले मेयरमा विष्णु शाह र उपमेयरमा जनककुमारी कुँवर, लोकतान्त्रिक फोरमले प्रेम बिसीलाई मेयरमा र दुर्गा कुश्मीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

इटहरी उपमहानगर

मेयरमा कांग्रेसबाट रोहित प्रसाईं, एमालेबाट द्वारिकलाल चौधरी, माओवादी केन्द्रबाट हरिमाया जिमी र राप्रपाबाट मेयरमा रामकुमार सुब्बाले उम्मेदवारी दिएका छन् ।

नेपालगन्ज उपमहानगर

कांग्रेसबाट मेयरमा डा. सुरेशकुमार कनोडिया र उपमेयरमा उमा थापा मगरले उम्मेदवारी दिएका छन् । एमालेले मेयरमा समसुद्दिन सिद्धिकी र उपमेयरमा शान्ति ढकाल, माओवादी केन्द्रले मेयरमा दामोदर आचार्य र उपमेयरमा कलामुन अन्सारीलाई अघि सारेको छ । त्यस्तै, राप्रपाको तर्पmबाट मेयरमा डा. धवलशमशेर राणा र उपमेयरमा रमारानी वैश्यले उम्मेदवारी दिएका छन् ।

तुलसीपुर उपमहानगर

कांग्रेसबाट मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा देविका नेपाली रेग्मी, एमालेबाट मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्य उम्मेदवार बनेका छन् । त्यस्तै, माओवादी केन्द्रले मेयरमा शेषुराम भण्डारी र उपमेयरमा सीता ओली, राप्रपाले मेयरमा लालबहादुर केसी र उपमेयरमा लक्ष्मीसिंह राठौरलाई अघि सारेको छ ।

घोराही उपमहानगर

कांग्रेसबाट मेयरमा भूपबहादुर डाँगी र उपमेयरमा पुष्पा श्रेष्ठ, एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा सीता न्यौपाने तथा माओवादी केन्द्रबाट मेयरमा जीवन गौतम र उमपेयरमा सीता चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij