५ असार, जनकपुरधाम । संविधान संशोधनको माग राख्दै आन्दोलनमा उत्रेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका साढे चार सयभन्दा बढी नेता तथा कार्यकर्तालाई जनकपुर सहित मधेसको विभिन्न जिल्लाहरुबाट आइतवार प्रहरीले नियन्त्रणमा लिएको छ ।
आन्दोलनमा उत्रेका राजपाका कार्यकर्ताहरुले प्रहरी दमन विरुद्ध चर्को नारावाजी गर्न थालेपछि प्रहरीले जनकपुरबाट मात्रै जिल्ला संयोजक सहित ४१ जना जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको हो ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता रोक्न राजपाले आह्वान गरेको तराई मधेश बन्दको क्रममा जनकपुरमा प्रदर्शन भएको हो । बन्दका कारण जनकपुरलगायत क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बजार, पसल, यातायात, शैक्षिक संस्था ठप्प रहेका छन् । आइतवार बिहानैदेखि बन्दकर्ताहरूले खुलेका पसलहरू र सवारीसाधानमा तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीको लाठी प्रहारबाट राजपा नेपालका धनुषा संयोजक परमेश्वर साह, अर्का अध्यक्ष सञ्जय सिंहसहित एक महिला नेतृ घाइते भएकी छन् । यसैबीच, आन्दोलनकारीले जनकपुरको भानुचोकमा एक व्यापारीलाई कुटपिट गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले भानुचोकमा रहेको नमूना टेलर्सका सञ्चालक मो. तेव राइनलाई कुटपिट गरेका हुन् । यता, पीडित व्यापारीले आफू बन्द पसल अगाडि उभिएको बेलामा आन्दोलनकारीले एक्कासी आक्रमण गरेको बताएका छन् ।
राजपाको पूर्व घोषित कार्यक्रम अनुसार आइतवार विहानैदेखि मधेसको विभिन्न जिल्लाहरुमा चुनाव विरुद्ध प्रर्दशन गरिएको हो ।