२३ जेठ, भद्रपुर । बहुउपयोगी कागतीको व्यवसायिक खेतीले झापाका कृषक एवम् उपभोक्ता दुवैै लाभान्वित भएका छन् । जिल्लाका विभिन्न ठाउँमा यसको व्यावसायिक खेती शुरू भएको छ । कागतीको नियमित सेवनले मानिसको स्वास्थ्यमा मद्दत पुग्छ । यसको महत्व र बजार बढ्दै गएका कारण कागतीको व्यावसायिक खेती बढ्दै गएको हो ।
आर्थिक वर्ष २०७०/७१ मा ४५ हेक्टर, आव २०७१/७२ मा ५५ हेक्टर, आव २०७२/७३ मा ७० हेक्टरमा तथा आव २०७३÷७४ मा करीब १ सय हेक्टर जग्गामा कागतीखेती गरिएको जिल्ला कृषि विकास कार्यालयका बागबानी शाखाका कर्मचारी बुल्लुराम राजवंशीले जानकारी दिए । पछिल्लो समय सर्वसाधारणले आ–आफ्ना घरमा कागतीको बोट लगाउने गरेका छन् । स्थानीय बहुउद्देश्य सहकारी संस्था चन्द्रगढीले गत वर्ष एक हजार ५ सय तथा यस वर्ष पनि सोही परिमाणमा कागतीको बोट आफ्ना सेयर सदस्यलाई रू. १ सय ५० का दरले विक्री गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीका अनुसार व्यावसायिक रुपमा कागतीखेती गर्ने कृषकलाई कार्यालयले थोपा सिँचाइ योजनाअन्तरगत रू. एक लाखसम्म अनुदान दिने गरेको बताए । सो अनुदान जिल्लामा यस वर्ष दुई जनालाई प्रदान गरिएको छ ।
गौरादह नगरपालिका– १ स्थित पूर्वेली पाथिभरा कृषि सहकारीले स्थानीय ध्रुव दाहालको दुई बिगाहा नौ कठ्ठा जग्गा बर्सेनि रू. ६० हजार भाडा तिरेर कागतीखेती शुरू गरेको छ । तीन वर्षमा लगभग रू. १७ लाख खर्च भइसकेको सञ्चालक खुमनाथ निरौलाले बताए । उनले कृषि कार्यालयबाट थोपा सिँचाइ योजनाअन्तरगत रू. एक लाख अनुदान पाएका छन् । रासस