२३ जेठ, गाईघाट । उमेदवारको बिषयलाई लिएर नेकपा एमाले चौदण्डी नगरपालिका भित्र चरम विवाद सिर्जना भएको छ । नगर कमिटीले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उमेदवार बनाएको भन्दै आक्रोशित कार्याकर्ताले मंगलबार एमाले नगर कमिटीको पार्टी कार्यालय तोडफोड गर्नुकासाथै पार्टी कार्यालयमा कालोझण्डा राखेका छन् ।
कार्यकर्ताहरुले चौदण्डी नगर कमिटीको कार्यालय बेल्टार ६ मा तालाबन्दी गर्नुकासाथै पार्टी कार्यालय भित्र रहेको दुई थान कुर्सी जलाई कालोझण्डा गाडेका छन् । तालाबन्दीपछि कार्यकर्ताहरुले बेल्टार बजारमा प्रर्दशन गरेका छन् । आम कार्यकर्ताको भावना विपरित प्रदेश कमिटीले निर्णय गरेको भन्दै आक्रोशित कार्यकर्ताले निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने र उमेदवारलाई पनि नगर क्षेत्रमा प्रवेश गर्न नदिने अडान राखेका छन् । हुलहुज्जतकासाथ पार्टी कार्यालयमा पुगेका आक्रोशित कार्यकर्ताले कार्यालय तोडफोड गरी कुर्सी वाहिर ल्याएर जलाएको स्थानीय सञ्चारकर्मी केदार कटुवालले जानकारी दिनुभयो ।
पार्टीको केन्द्रीय सर्कुलर वमोजिम नगर कमिटीले कुमारसिंह कार्की, राजेन्द्र कटुवाल, शम्भु पौडे्ल र कालु लामालाई सिफारिस गरेको थियो । सिफारिसमा परेका जो उम्मेदवार भएपनि एक अर्काले सघाउने भन्ने उनीहरु वीच समझदारी बनेको थियो । चार जनामा जसलाई टिकट दिएपनि विवाद सिर्जना हुने र अन्तरघात हुने सम्भावना बढेको भन्दै १ नम्बर प्रदेश कमिटीले पार्टीका जिल्ला कमिटी सदस्य नरेन्द्र राउतलाई टिकट दिएपछि विवाद भएको हो ।
आफ्नै कार्यकर्ता पार्टी कार्यालय तोडफोडमा उत्रिएपछि पार्टी शुभेच्छुक तथा मतदाताहरु अन्यौलमा देखिएका छन् । एमाले आन्तरिक विवादमा फसेको भन्दै विपक्षी पार्टी भने उत्साहित देखिएका छन् । एमाले भित्र विवाद चुलिदै जाँदा मतदाता आफ्नो पंक्षमा पार्ने योजनाकासाथ विपक्षी पार्टी लागेको देखिन्छन् ।