२०८३ साउन ११ सोमबार

गोहीको प्रजनन समय भएकाले नदी आसपासमा सतर्क हुन आग्रह

ई आर्थिक    आइतबार, जेष्ठ २१ २०७४
3.2K
Shares
गोहीको प्रजनन समय भएकाले नदी आसपासमा सतर्क हुन आग्रह

२१ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले अहिलेको मौसम गोहीको प्रजननको समय भएकाले नदी आसपास जानेक्रममा विशेष ध्यान दिन आग्रह गरेको छ ।

चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्डा पारेर अहिले लुकाउने समय भएकाले यो समयमा गोही थप आक्रामक हुने बताउनुभयो ।

निकुञ्जको पूर्वी सेक्टरअन्तर्गतको इचर्नी खोला नजिकै गोहीले मानिसलाई आक्रमण गरी हात नै चुँडेर लगेपछि निकुञ्जले नदी आसपासमा सचेत हुन भनेको हो ।

“प्रजननको समयमा आक्रामक हुने भएकाले टाढैबाट पनि गोही आउन सक्छ, अर्यालले भन्नुभयो – विशेष ध्यान नदिए मानिसको ज्यानै लिन्छ ।” अहिले माछा मार्ने यामसमेत नभएकाले यसतर्फ पनि निकुञ्जले ध्यानाकर्षण गराएको छ ।

गत बुधबार चितवनको कुमरोजस्थित इचर्नी खोलामा माछा मार्ने क्रममा गोहीले स्थानीयवासी प्रसाद महतोको हात नै खाइदिएको थियो । उनको अहिले भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि गएको चैतमा पनि पौडी खेल्न जाँदा चितवनको जगतपुरका अर्जुन हरिजनलाई गोहीले आक्रमण गरेको थियो । यस्ता घटना यहाँ दोहोरिरहेकाले निकुञ्जले यसतर्फ सचेत गराएको हो ।

पछिल्लो तथ्याङ्कमा चितवनको यो दुई नदीमा १६८ वटा गोही फेला पारिएको थियो । केही समयअघि यहाँ एउटा गोही जालमा अड्किएर मरेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij