१९ जेठ, काठमाडौं । आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका–१ मा एउटै पदका लागि सासूबुहारीको जुहारी चलेको छ ।
यस गाउँपालिकामा दलित महिला कोटामा एमालेबाट सासू दिलमाया विक र माओवादी केन्द्रबाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा छन् । दुबैले आआफ्नो जित्ने दाबीका साथ मत माग्न गाउँ निस्किएका छन् ।
अहिले बुहारी चुनाव प्रचारपसारमा हिँडिरहेकी छिन् । ‘एउटै घरमा तीन/चारवटा राजनीतिक दलमा त उम्मेदवार बनेका छन्, यहाँ हामी पनि सासू बुहारीनै दलित महिला कोटामा दुई फरक राजनीतिक दलबाट उम्मेदवार बनेका छौं,’ सीताले भनिन् ।
एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परे पनि कुनै घरायसी समस्या नभएको दिलमायाले बताइन् । रासस