९ जेठ, काठमाडौं । प्रदेश नम्बर १ अन्तर्गत रहेको उदयपुरमा जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनकालागी अहिले चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरु तयारीमा जुटिसकेका छन् ।
जिल्लामा स्थानीय तहको संख्या ८ वटा छन्, जसमा ४ नगरपालिका छन् भने त्यति नै संख्यामा गाउँपालिका छन् ।
साविकको त्रियुगा नगरपालिका बाहेक कटारी, चौदण्डीगढी र बेलका नगरपालिका नयाँ थपिएका छन् भने पुरानो संरचनाअनुसारको जोगीदह गाविस गाभिएको छ । चार गाउँपालिकामा उदयपुरगढी, ताप्ली, रौतामाई र सुनकोशी छन् ।
जनगणना ०६८ अनुसार उदयपुर जिल्लाको जनसंख्या ३ लाख १७ हजार ५ सय ३२ रहेको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार, जिल्लामा मतदाताको संख्या एक लाख ७५ हजार ४ सय ६१ छ । जसमा पुरुष ८८ हजार ५ सय १० जना छन् भने महिलाको संख्या ८६ हजार ९ सय ५१ छ ।
निर्वाचनबाट ८ स्थानीय तहका ७५ वटा वडाबाट ८ प्रमुख र ८ उपप्रमुखसहित जम्मा ३९१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
उदयपुरको चुनावी इतिहास यस्तो छ
उदयपुर जिल्लाको चुनावी इतिहास केलाउँदा यहाँ राजनीतिक दलहरुको वर्चस्वमा समयअनुसार उलटफेरको अवस्था देख्न सकिन्छ । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनको नतिजा हेर्ने हो भने यहाँका मतदाताहरुले दलहरुलाई आलोपालो गरी परीक्षण गरेको देखिन्छ ।
तीन निर्वाचन क्षेत्र रहेको उदयपुरमा ०६४ सालको संविधानसभा चुनावमा नेकपा माओवादीले दुई ठाउँमा र नेपाली कांग्रेसले एक ठाउँमा जितेको थियो ।
तर, ०७० सालको चुनावसम्म आइपुग्दा माओवादीको पुरानो साख र जगजगी धरमरायो । शान्ति प्रक्रियापछि परिवर्तनकारी शक्तिका रुपमा जनताको विश्वास जितेको माओवादीले संविधानसभाको दोस्रो निर्वाचनमा उदयपुरमा एउटै क्षेत्र पनि जितेन ।
दुवैपटकको निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेसका नारायण खड्का जनमत पाउँदै सभासदमा दोहोरिएका थिए । बाँकी दुई क्षेत्रमा कांग्रेस र एक क्षेत्रमा एमालेले जित पारेको थियो । यो स्थितिमा जेठ ३१ गतेको स्थानीय चुनावमा माओवादी आफ्नो गुमेको साख फर्काउने सुरमा छ । संविधानसभाको दोस्रो निर्वाचन र स्थानीय तहको पहिलो चरणको निर्वाचन परिणामबाट पाएको पाठ माओवादीका लागि उपयोगी हुन सक्छ ।
नेपाली कांग्रेस भने संविधानसभाको दोस्रो चुनावकै सफलतालाई अझै घनीभूत पार्ने रणनीतिमा छ ।
उता एमाले भने स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पाएको अग्रताबाट हौसिएर उदयपुरमा नयाँ इतिहासको घाम झुल्काउने दाउमा छ । दोस्रो संविधानसभामा एक सीट जितेको एमाले आफूलाई थप बलियो बनाउने दाउमा छ ।
त्यसो त ०५४ सालको स्थानीय निर्वाचनमा साविकको एकमात्र नगरपालिका त्रियुगामा एमाले नै विजयी भएको थियो । एमालेका उम्मेदवार लालसेर राईले मेयरमा जित हात पारेका थिए ।
अहिले चुनावी सरगर्मी: दलहरुको तयारी युद्धस्तरमा
उदयपुरका ८ वटा स्थानीय तहमा तीन दल मुख्य गरी नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । त्यसमा पनि यस पटक एमाले र कांग्रेसलाई नै मुख्य प्रतिस्पर्धी मानिएको छ ।
जिल्लाका ८ वटा स्थानीय तहमा ७५ वटा वडाहरु छन् । मतदान केन्द्रको संख्या बढाएर ९८ वटा पुर्याइएको छ । दोस्रो संविधानसभा निर्वाचनका बेला मतदान केन्द्र ८७ वटा मात्रै थिए । यस पटक ११ वटा मतदान केन्द्र थपिएको छ भने निर्वाचनमा भाग लिने दलको संख्या २४ वटा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
दलहरुले जेठ ३१ को चुनावको लागि नगर तथा गाउँ तहमा तयारी तीव्र पारेका छन् । यसअघि सरकारले देशभर एकै चरणमा चुनाव नगरी प्रदेश नम्बर १ सहित ४ प्रदेशको चुनाव जेठ ३१ का लागि सार्ने निर्णय गरेपछि जिल्लामा दलहरुको चुनावी सक्रियता सुस्ताएको थियो ।
पहिलो चरणमा निर्वाचन भएका प्रदेश नम्बर ३, ४ र ६ मा पार्टीहरुले उम्मेदवारको टुंगो लगाउन तथा प्रचारप्रसार थाल्न ढिलाइ गर्दा कडा मूल्य चुकाउनुपरेको अनुभव हेरेर उदयपुरमा दलका नेताहरु समयमै चुनावी चटारोमा होमिएका हुन् ।
ठूला दल एमाले, कांग्रेस, माओवादी केन्द्रसहित सबै दलले मुख्य गरी कार्यकर्ता भेटघाट, घरदैलो कार्यक्रम र मतदाता शिक्षामा जोड दिइरहेका छन् । पार्टीको घोषणापत्र सुनाउँदै जनताको मन जित्न र निर्वाचनको महत्व बुझाउन दलका नेता–कार्यकर्ता घरदैलोमा जुटिरहेका छन् ।
दलहरुले मतदातासम्म बेलैमा उम्मेदवारसहित जान दलका तर्फबाट नगर, गाउँ तह तथा वडाका उम्मेदवारहरुको सिफारिश गरेर टुंगो लगाउने क्रम थालिसकेका छन् । उम्मेदवारको टुंगो नलागे पनि दलहरु सम्भावित उम्मेदवारको नाम लिएर मतदाताकहाँ पुगिरहेका छन् ।