१५ जेठ, बारा। कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वेटिङ प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिनु भएको छ । आफनो कार्यकालमा बृद्धि भएको ७.५ प्रतिशतको आर्थिक बृद्धिदरलाई नघटनाउन प्रधानमन्त्री प्रचण्डले वेटिङ प्रधानमन्त्री देउवालाई चुनौती दिनु भएको हो ।
नेकपा माओवादी केन्द्रसहितका दलहरूको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुने बाटो खुला गर्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिइसक्नु भएको छ । गत साउनमा कांग्रेस र माओवादी केन्द्रका वीच भएको भद्र सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुला गरिदिनु भएको हो ।
सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीले दिएको समयसीमा सकिए लगत्तै बहुमतीय प्रक्रियबाट देउवा प्रधानमन्त्री बन्नुहुनेछ । बारामा आइतबार फाष्टट्रयाक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामीले १० महिनाको अवधिमा २४ वर्षदेखि ओरालो लागेको आर्थिक बृद्धिदरलाई ७.५ प्रतिशतमा पुगाएका छौ । यो एउटा मानक स्थापित भएको छ ।
अव आउने सरकारले त्यो भन्दा घटाउने गरी काम गर्नु भनेको लाजमर्दो हुनेछ । त्यसकारण मैले यसलाई मानक स्थापित भयो भनेको हुँ ।’आफनो नेतृत्वको सरकारले लोडसेडिङ अन्त्य गरेर गर्व गर्न सक्ने काम गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।
‘लोडसेडिङबाट आक्रान्त जनता, उद्योग व्यवसाय र आर्थिक क्रियाकलापलाई यहि १० महिने सरकारले उज्यालो अभियान तर्फ अगाडि बढायो’, उहाँ भन्नुभयो, ‘भ्रष्टाचार र बेइमानी गरेर लोडसेडिङ गर्ने हिम्मत अव आउने कुनै पनि सरकार र मन्त्रीहरुले गर्न सक्ने छैनन् ।’अाजकाे अन्नपूर्ण पोष्ट दैनिकबाट