२०८३ साउन १२ मंगलबार

दिगो आयआर्जनका लागि पोखराका कृषक कफिखेतीतर्फ आकर्षित

ई आर्थिक    आइतबार, बैशाख १७ २०७४
4.3K
Shares
दिगो आयआर्जनका लागि पोखराका कृषक कफिखेतीतर्फ आकर्षित

१७ वैशाख, पोखरा । दिगो आयआर्जन गर्ने उद्देश्यले यहाँका कृषक कफिखेतीतर्फ आकर्षित भएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित बरपौवा, बरमाझथर, बर पाण्डेथुम, गैरागाउँलगायतका कृषकले दिगो आयआर्जन गर्ने उद्देश्यका साथ कफिखेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुले महारुद्र कफी उत्पादन सङ्घ कास्कीको सक्रियतामा कृषक सङ्घमा आवद्ध भई कफिखेतीतर्फ आकर्षित भएका हुन् ।

सङ्घका अध्यक्ष मनोहर शर्मा आचार्यकाअनुसार साविक लेखनाथ नगरपालिका– १८ भित्रका सम्पूर्ण गाउँ समेट्ने गरी निर्माण गरिएको कफी समुहमा हाल १०२ जना सदस्य आवद्ध भई कफिखेतीतर्फ लागिसकेका छन् ।
समूहका सदस्यमध्येबाट लगाइएका लगभग तीन हजार ७०० बिरुवामध्ये २०० बोटले उत्पादन दिन थालिसकेका बताउँदै उहाँले कफिखेती विस्तारका लागि हाल पाँच हजार बिरुवा उत्पादन गर्न लागिएको जानकारी दिनुभयो ।

“रोजगार एवम् अवसरको खोजीमा युवा विदेशिने क्रम बढ्नुका साथै गाउँबाट सहरमा विस्थापित हुने प्रवृत्ति बढेको छ,” उहाँले भन्नुभयो, “ अवसरको खोजीमा विदेशिने युवालाई यहीँ रोजगारका सम्भावनाको खोजी गर्ने अभियानकै रुपमा कफिखेतीलाई विस्तार गर्ने सोचमा छौं ।”

कफिखेतीसँगै केराखेती र मौरीपालनलाई पनि अघि बढाउने उद्देश्य अनुसार समूहमा आवद्ध सदस्यलाई प्रति सदस्य एक÷एकवटा मौरीका घारसमेत प्रदान गर्ने सङ्घको लक्ष्य छ ।

प्रत्येक कफिको बोटबाट सात हात अन्तरमा केरा लगाउनुका साथै बगैचाभित्र मौरीपालन समेत गर्नका लागि कृषकलाई अभिप्रेरित गरिने आचार्यले बताउनुभयो ।

मौरीपालन समेत गरिनुले कफिको फूलफुल्ने बेलामा महको उत्पादन पनि राम्रो लिनसकिने बताउँदै उहाँले कफी सँगसँगै केरा र महको उत्पादन समेत भएपछि कृषकले त्यसबाट राम्रो आम्दानी लिनसक्ने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij