१३ वैशाख, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आयोजना गरेको दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधी त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र सरिता बासीले जितेका छन् । मंगलबार रसुवाको लाङटाङमा भएको म्याराथनमा पुरुषमा होमलाल र महिलामा सरिताले उपाधि जितेका हुन् ।
दुई वर्षअघि वैशाख १२ गतेको भूकम्पबाट अत्यधिक प्रभावित लाङटाङ क्षेत्र हाल सुरक्षित रहेको सन्देश विश्वभर फैल्याउन म्याराथन गरिएको टानले जनाएको छ ।

होमले निर्धारित दूरी ३ घण्टा ३४ मिनेटमा पार गरेका थिए । आर्मीकै राजन खत्री ३ घण्टा ३७ मिनेटबाट दोस्रा भए । ३ घण्टा ३८ मिनेटमा दूरी पार गरेका आर्मीकै वेदबहादुर सुनुवार तेस्रो भएका थिए ।
महिलातर्फ सरिताले ५ घण्टा १३ मिनेट २० सेकेन्डमा दूरी पार गरिन् । आर्मीकी रेसु बस्नेतले ५ घण्टा १६ मिनेट ४५ सेकेन्ड र एपीएफ क्लबकी पुष्पा भण्डारीले ५ घण्टा २८ मिनेट ४६ सेकेन्डबाट दोस्रो र तेस्रो स्थान हासिल गरे ।
दुवैतर्फ विजेताले समान एक लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए । म्याराथन लाङटाङ राष्ट्रिय निकुञ्जको क्यान्जिङ गुम्बाबाट सुरु भई लाङटाङ गाउँ हुँदै थाङस्याप घाडा, तवेला, लामा होटल, रिम्चे, शेर्पागाउँ, खान्जिम, ब्रिदिम र लिङलिङ, स्याबु्रबेसीमा पुगेर सकिएको थियो । प्रतियोगितामा १० विदेशी, १४ महिलासहित १०२ जना सहभागी थिए ।