८ वैशाख, काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले हालै जारी गरेको थप नयाँ सेयर (एफपिओ)को बाँडफाँड वैशाख २५ गतेभित्रै हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डले स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ ५० दिनभित्र बाँडफाँट गरिसक्न निर्देशन दिएपछि अबको दुईसाता भित्रै बाँडफाँड गरिने भएको हो । हाल बजारमा देखिएको तरलता अभावलाई दृष्टिगत गर्दै धितोपत्र बोर्डले यस्तो निर्देशन दिएको हो ।
चार्टडको एफपीअोमा दुई लाख २५ हजारभन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँको आवेदन दिएका थिए । यो बाँडफाँड भएपछि बजारमा तरलता सहज हुनुका साथै लगानीकर्तालाई समेत फाइदा पुग्ने अपेक्षा बोर्डको छ ।
स्टान्डर्ड चार्टर्ड बैंकले एक सय रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ गत चैत्र ४ गतेसम्म निष्काशन गरेको थियो । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।