२०८३ साउन ११ सोमबार

एक नम्बर प्रदेशको स्वप्न परियोजना, जसले मुलुक नै समृद्ध बनाई दिनेछ,

ई आर्थिक    बिहिबार, चैत्र ३१ २०७३
16.6K
Shares
एक नम्बर प्रदेशको स्वप्न परियोजना, जसले मुलुक नै समृद्ध बनाई दिनेछ,

विषय प्रवेश

प्रकृतिले सबैलाई सबैचिज दिएको छैन । अरबको मरुस्थलीय क्षेत्रमा खनिज तेल छ । साइबेरियाको हिमाच्छादित एकान्तमा प्राकृतिक ग्यास र कोईला छ । माल्दिभ्समा समुद्र छ । त्यस्तै नेपालको बरदान पानी र हिमाल हो । नेपालले आफ्नो सम्पन्नता यसैभीत्र खोज्नु पर्दछ । पानीको उपायोग खानेपानी, सरसफाई, सिंचाई, विद्युत् उत्पादन जल यतायात र पर्यावरण सन्तुलन, आदिमा गर्र्न सकिन्छ ।

‘जलमे जिवन’ अर्थात् पानीकै कारण पृथ्वीमा जीवन संभव भएको हो । विना पानी जिवन संभव छैन । त्यसैले पानी पृथ्वीमा सर्वोत्तम बरदान हो । अत ः जुन भुखण्डमा यस सर्वोत्तम बरदानको पर्याप्तता छ, त्यो भुखण्ड हो, नेपाल । त्यसैले नेपालले आफ्नो समृद्धि पानीको उचित ढंगले बहुआयामीक उपयोगबाट मात्र संभव छ ।

tamor-river

 

सप्तकोसी नदि गोसाईकुण्ड र कञ्चन्जंगा जलाधारक्षेत्र भएर बहने ईन्द्रावती, सुनकोसी, तामाकोसी, लिखु, दुधकोसी, अरुण र तमोरलाई समेट्ने नेपालकै सबैभन्दा ठूलो नदी मात्र नभएर सिन्धु र ब्रम्हपुत्र पछिको हिमालयबाट निश्कने ठूलो नदी हो । यसको कुल जलाधार क्षेत्र ९२ हजार ५ सय ३८ वर्ग कि.मी. मध्ये ४१ हजार ३ सय ३३ वर्ग कि.मी. नेपालमा पर्दछ । नेपालको कुल जलविद्युत उत्पादन क्षमता ८३,२९० मे.वा. मध्ये २२,३५० मे. वा. सप्तकोशी जलाधार क्षेत्रले योगदान गर्न सक्दछ । तामोर जलाशययुक्त आयोजना सप्तकोशी नदिमा जाइकाद्वारा सन् १९८५ मा गरिएको ‘मास्टर प्लान स्टडी अन कोशी रिभर वाटर रिसोर्स डेभलपमेन्ट’मा उल्लेखित १३ वटा ठूला जलविद्युत् आयोजना मध्येको एक महत्वपूर्ण आयोजना हो ।

वर्तमान सरकारकारले ‘नेपालको पानी, जनताको लगानी’ भन्ने अवधारण अगाडि बढाई रहेकोमा देश विदेशमा रहेका नेपालीहरुको तर्फबाट उत्साहजनक सहभागिता भैरहेको छ । यसै परिवेशमा तमोर जलाशययुक्त आयोजना ७६३ मे.वा. निर्माणको लागि एक नम्बर प्रदेशका स्थानीयबासीको उल्लेख्य लगानी हुनेछ ।

आयोजनाको अवस्थिति

तमोर जलासययुक्त आयोजना नेपालको प्रदेश नं १ को पाँचथर र तेह्रथुम जिल्लाको सीमा नदिको रुपमा बहने तमोर नदिमा रहेको छ । यसको बाँधस्थल तेह«थुम जिल्लाको ओख्रे गा.वि.स. र पाँचथर जिल्लाको स्याबरुम्बा गाविसमा पर्दछ । यो आयोजनाको बाँधस्थल कोशी राजमार्गको धनकुटा धरान सडक खण्डको मुलघाट देखि ३० किमिमा पर्दछ । यो बाँधस्थल म्याङ्लुङ्–लुम्बुघाट २० कि.मि. यासोक–लुम्बुघाट १५ कि.मि. लुम्बु दोभानको निर्माणधिन पुलबाट १.५ किमि तलतिर पर्दछ । यस आयोजनाको बाँधस्थलसम्मको मुख्य पहुँचमार्ग मुलघाट–लुम्बुघाट सडकखण्डको ३० कि.मि. मध्ये २७.५ कि.मि. सडकको ट्रयाक ओपन भैसककेको छ भने बाँकी २.५ कि.मि. ट्रयाक खोल्नेकार्य भैरहेको छ । ट्रयाक खुल्नासाथ यो आयोजनाको बाँध स्थलसम्मको मूख्य पहुँच मार्ग तयार हुन्छ ।
Tamor final

आयोजना निर्माणपछि बन्ने जलासय गुगलमा

आयोजनाको संक्षिप्त परिचय

तमोर जलासययुक्त आयोजना तेह«थुम जिल्लाको ओख्रे गाविस र पाँचथर जिल्लाको स्याबरुम्बा गाविसको सीमा भएर बहने तमोर नदिमा २०५ मिटर अग्लो बाँध बाधेर ७६३ मेगावाट विद्युत् निकाल्न सकिने गरी नेपाल विद्युत् प्राधिकरणले संभाव्यता अध्ययन रिपोर्ट तयार गरेर आयोजना अध्ययन अगाडि बढाई रहेको आयोजना हो । ने.वि.प्रा.को संभाव्यता अध्ययन रिपोर्ट अनुसार यस आयोजनाको बाँध २५० मि. अग्लो बनाउने हो भने यसको क्षमता १२५० मे.वा. हुन आउँछ । तर पनि ने.वि.प्रा.ले यस आयोजना ७६३ मे.वा. क्षमतामा अगाडि बढाउने गरी विस्तृत अध्ययन गरिरहेको छ । नेपाल सरकार मन्त्रीपरिषद्बाट पारित राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र–२०७२ मा प्रस्तावित ११ वटा जलासययुक्त आयोजनाको ८ औं प्राथमिकता सुचिमा यो आयोजना रहेको छ । जसमा यो आयोजनाको क्षमता ६९२ मे.वा. रहने र वि.स. २०८२ साल भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसरी हेर्दा यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हो ।

नेपाल विद्युत् प्राधिकरणले तयार गरेको संभाव्यता अध्ययन रिपोर्ट अनुसार ७६३ मे.वा. को आयोजना बनाउँदा यस आयोजनाबाट बार्षिक ११०५.३२ गिगावाट आवर विद्युत् उत्पादन हुन्छ । यस अनुसार यो आयोजनाबाट हिउँद याम (पौष, माघ, फाल्गुण चैत्र) मा ६ घण्टा बाँकी (बैशाख, जेष्ठ, आषाढ, श्रावण, कार्तिक, मंसिर) बर्षा याममा दैनिक २४ घण्टा विद्युत उत्पादन गर्न सकिन्छ । यो आयोजनाको बाँध ३०० मि. अग्लो बाँध्ने हो भने यसको जडित क्षमता २५६५ मे.वा. हुन आउँछ र यसबाट बार्षिक ४९६८.५६ गिगावाट विद्युत् निकाल्न सकिन्छ । यस अनुसार यो आयोजनाबाट हिउँद याम (पौष, माघ, फाल्गुण चैत्र) मा १२ घण्टा र बर्षा याम (बैशाख, जेष्ठ, आषाढ, श्रावण, कार्तिक, मंसिर) मा दैनिक २ घण्टा विद्युत उत्पादन गर्न सकिन्छ । त्यसैले यो आयोजनाको जडिता क्षमता ७६३ मे.वा. बढाएर २५६५ मे.वा. बनाएर हिउँद यामको बढ्दो लोडसेडिङ कम गर्ने तर्फ सबै पक्षले ध्यानदिनु आवश्यक छ ।

आयोजनाको वर्तमान अवस्था

सन् १९८५ मा जाइकाद्वारा ६९६ मे.वा. पहिचान गरिएको २५ बर्षपछि ने.वि.प्रा.ले यो आयोजनाको ५३० मे.वा. क्षमताको सर्भेक्षण अनुमति पत्र उपलब्ध गराई दिनको लागि नेपाल सरकार, उर्जा मन्त्रालय, विद्युत् विकास विभागमा मिति २०६८÷११÷०४ मा आवेदन गरेको थियो । विद्यमान जलविद्युत् नियमावली अनुसार कुनै पनि आयोजनाको सर्भेक्षण लाइसेन्स लिएर मात्र गनुपर्ने हुन्छ । यस्तो जारी गर्ने अधिकार जलविद्युत् नियमावली अनुसार उर्जा सचिवसँग रहेको छ । त्यसैले सरकारको पुर्ण स्वामित्व रहेको ने.वि.प्रा. समेत यो आयोजनाको लाइसेन्सको लागि उर्जा मन्त्रालय आवेदन गर्नु परेको हो । ने.वि.प्रा.को आवेदन उपर उर्जा मन्त्रालयबाट कारवाही हुँदा मिति २०७०÷०४÷३० मा ६५० फुली सप्लाई लेवल हुँदा लाइसेन्स जारी भैसकेका कावेली ए ३७.६ मे.वा. र तल्लो हेवा २१.६ मे.वा.को को–ओर्डिनेट ओभरल्याप हुने हुँदा ४५० फुली सप्लाई लेवल कायम गरेर संभाव्यता अध्ययन गर्न ३ वर्षको लागि लाइसेन्स दिइयो ।
यसपछि ने.वि.प्रा.ले यो आयोजना विभिन्न क्षमतामा अध्ययन गर्दा यो आयोजना ७६३ मे.वा. भन्दा ठूलो बनाउँदा मात्र आकर्षक हुने देखियो र ने.वि.प्रा.ले यसको क्षमता ७६३ मे.वा. कायम गर्न मिति २०७३÷११÷१९ मा उर्जा मन्त्रालय, विद्युत् विकास विभागमा आवेदन गरेकोमा हालसम्म स्विकृति पाउनको सकेको छैन । विद्यमान जलविद्युत् नियमावली र कार्यविधि अनुसार उर्जा मन्त्रालयबाट जारी भएका लाइसेन्सको को–अर्डिनेट ओभरल्याप हुने गरी अर्को लाइसेन्स जारी गर्ने अधिकार उर्जा सचिबलाई दिइएको छैन । त्यसैले सरकारले श्रोतको अधिकतम् उपयोगको यो आयेजनाको लाइसेन्स नेपाल सरकार मन्त्री परिषद्बाट तत्काल निर्णय गर्न जरुरी छ । यो आयोजना निर्माण पछि डुब्ने कावेली ए ३७.६ मे.वा. र तल्लो हेवा २१.६ मे.वा. आयोजनाकालाई इनर्जी क्षतिपुर्ति दिने गरी यो आयोजना तत्काल अगाडि बढाउन जरुरीे छ ।

आयोजनाको प्रभाव

अहिले ने.वि.प्रा.ले तयार पारेको ७६३ मे.वा.क्षमताको संभाव्यता अध्ययन रिपोर्ट अनुसार लुम्बुघाट भन्दा १.५ कि.मि. तल २५० मि. अग्लो बाँध बनाउँदा नदिको पानी बाँध स्थलबाट तमोर नदिमा ३८ कि.मि. पछाडिसम्म फर्किर ३८.६५ वर्ग कि.मि. क्षेत्रफलको तलाउ बन्दछ । यसरी नदिको पानी तलाऊ बन्दा तेह्रथुम जिल्लाका १२ गा.वि.स.हरु क्रमशः ओख्रे, सुङ्नाम, सोल्मा, म्याङ्लुङ्, तम्फुला, जलजले, सिम्ले, थोक्लुङ, चुहानडाँडा, छातेढुंगा, ईवा र ह्वाकु पाँचथर जिल्लाका १२ गा.वि.स.हरु क्रमशः स्याबरुम्बा, रानीगाऊँ, लुम्फुवाङ्, नवमीडाँढा, चोकम्जु, फिदिम, नागिन, बार्पा, सुभाङ्, पञ्चमी, अमरपुर र नागि ताप्लेजुङ् जिल्लाका निगुरादिन, फुलबारी, हाङ्पाङ्, फुङ्लिग, दोखु, नाङ्खोल्याङ्, थेचम्बु, र चाक्सीबोटेसम्म फैलन्छ ।
तमोर नदिमा ३८.६५ वर्ग कि.मि. क्षेत्रफलको बन्ने तलाउको आकर्षणका कारण जल पर्यटन बढ्न गई तलाउको छेउछाउ पर्यटकलाई आवश्यक होटल, लज, रेष्टुरेण्ट आदिको विकास हुन्छ भने तलाउको करिब ३८ कि.मि खण्डमा जल यातायात सञ्चालन गर्न सकिन्छ । यो तलाउमा हुने जलयातायातले तेह्रथुम सदरमुकाम म्याङ्लुङ्, पाँचथर सदरमुकाम फिदिम र ताप्लेजुङ सदर मुकाम फुङ्लिङ जोड्द छ । यसरी जलमार्गबाट १ नम्बर प्रदेशमा रहेको १४ जिल्ला मध्ये ३ जिल्लाको सदर मुकाम जोड्नु आफैमा यो आयोजनाको आकर्षण हो । आयोजना निर्माणका क्रममा बन्ने मुलघाट–लुम्बुघाट ३० कि.मि. सडक निर्माणपछि मुलघाट–लुम्बुघाट–म्याङ्लुङ्–बसन्तपुर–हिले–धनकुटा–मुलघाट चक्रपथ बन्दछ । यो चक्रपथमा सडक पुर्व–पश्चिम मध्यपहाडी राजमार्गको म्याङ्लुङ्–बसन्तपुर–हिले तथा उत्तर–दक्षिण रानी–किमाथांका राजमार्गको मुलघाट–बसन्तपुर खण्ड पर्दछ ।

यो आयोजनामा बन्ने जलासयको पानी पुर्व–पश्चिम मध्यपहाडी राजमार्गको फिदिम–आठराई ३५ कि.मि.सडक खण्डको तमोर नदिमा निर्मित पुलको लेवल भन्दा माथिसम्म आएर सो पुल डुब्दछ । सो पुल रहेको ठाउँ पाँचथरको सदरमुकाम फिदिमबाट १४ कि.मि. र तेह्रथुमको ऐतिहासिक संक्रान्ति बजारबाट २१ कि.मि. मा दुरीमा छ । सो पुल डुबेपछि मध्यपहाडी राजमार्ग संचालनको लागि यस आयोजनाले सो पुलको सट्टामा तलबाट जलयातायात सञ्चालन गर्न सकिने गरी बन्ने पक्किपुल आफैमा नेपालको आकर्षण बन्न गई यो ठाउँमा पर्यटन विकासको संभावना रहन्छ । यो आयोजनाको ड्यामको फैलावट पुर्व–पश्चिम मध्यपहाडी राजमार्गमा सरकारले प्रस्ताब गरेको ११ वटा नयाँ सहरहरु मध्ये पाँचथरको फिदिमबाट १४ कि.मि. र तेह«थुमको बसन्तपुरबाट ४० कि.मि.मा रहेको छ भने नेपालको अधिक जनसंख्या भएका तराईका जिल्लाहरु झापा, मोरंङ र सुनसरीबाट नजिक छ । जसका कारण यो आयोजनामा बन्ने तलाउमा जलपर्यटन आकर्षण बढ्न गई यो आयोजना पर्यटकिय रुपमा समेत आकर्षण केन्द्र विकास हुन्छ ।

Tamor map

यो आयोजना पुर्वपश्चिम विद्युत् ४०० के.भी.ए. प्रसारण लाईनबाट करिब ७५ कि.मि.को दुरीमा भएकाले यो आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजै जोड्न सकिन्छ । यो आयोजनाको भौगोलिक अवस्थिति नेपालको पुरानो मोरंग सुनसरी औद्योगिक क्षेत्र तथा प्रस्तावित दमक औद्योगिक क्षेत्रबाट नजिक रहेकोले यस क्षेत्रमा बढ्दो उर्जाको मागलाई सम्बोधन गर्न पनि यो योजना बन्न जरुरी छ । यो आयोजना निर्माण पछि विद्युत् आपूर्तिको संभावनालाई हेरेर प्रदेश नं. १ मा थप उद्योग स्थापना हुन गई यस क्षेत्रमा रोजगारी श्रृजना हुन्छ । यस बाहेक आयोनजा निर्माणका समयमा श्रृजना हुने प्रतक्ष तथा अप्रत्यक्ष रोजगारी, अयोजनामा शेयर लगानी गर्ने अवसर, आयोजना प्रभावित क्षेत्रमा आयोजनाले सामाजिक विकासमा गर्ने लगानी आदिका कारण धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ्मा यस आयोजनाको अझ बढी महत्व छ । देशमा विद्युत् माग र आपूर्तिमा बढ्दो असन्तुलान कम गरेर लोडसेडिङ अन्त्य गर्नको लागि जलासयुक्त आयोजनाको आवश्यकतालाई मध्यनजर गर्दा समेत यो अयोजना निर्माण भएमा देशको लोडसेडिङ कम गर्न समेत प्रत्यक्ष सहयोग पुग्दछ ।

आकर्षक आयोजना

नेपालमा पहिचान गरिएका ५२ वटा जलासययुक्त आयोजनाबाट करिब ४३,३४५ मे.वा.उत्पादन गर्न सकिने संभावना रहेको एक तथ्याङ्कले देखाए पनि सबै आयोजनाहरु आर्थिक रुपले संभाव्य छैनन् । यो आयोजना निर्माणमा जान लागेको राष्ट्रिय प्राथमिकता प्राप्त बुढीगण्डकी जलासययुक्त जलविद्युत् अयोजनासँग तुलनात्मक अध्ययनबाट यस आयोजनाको आवश्यकता र औचित्यता माथि थप प्रष्ट गर्न सकिन्छ ।
क्र.स.                     विवरण                               बुढी गण्डकी                              तमोर
१.                           क्षमता                                १२०० मे.वा.                              ७६३ मे.वा.
२.               जलासयको क्षेत्रफल                      ६३ वर्ग कि.मि.                           ४० वर्ग कि.मि.
३.               जलाधार क्षेत्र                                 ५००५ वर्ग कि.मि.                       ५०९९ वर्ग कि.मि.
४.               बाँधको उचाई                                २६३ मि.                                    २०५ मि.
५.               बाँधको लम्बाई                                ७०० मि.                                   ५८० मि.
६.               बर्षिक विद्युत् उत्पादन                  ३३८३ गिगावाट आवर               ३३५४ गिगावाट आवर
७.               विस्थापन हुने घर संख्या १०,४३६ १२६
८.                डुबान क्षेत्र                                      ६६.३७ वर्ग कि.मि.                    ४०.६६ वर्ग कि.मि.
९.          बतावरणिय तथा समाजिक खर्च           कुल लागतको २५%                    कुल लागतको ५%
१०.         खेति योग्य जमिन डुबान                     ३२.६ वर्ग कि.मि.                         ५.९ वर्ग कि.मि.
११.          कुल आयोजना लागत                  २५,४९.५५ मिलियन अमेरिकी डलर    १२,१७.३० मिलियन अमेरिकी डलर
१२          आन्तरिक प्रतिफल दर                   १२.७ %                                             १५.७३ %

माथिको तालिकाबाट यो आयोजना र बुढी गण्डकी आयोजनको तुलनात्मक रुपमा अध्ययनबाट यो आयोजना आर्थिक, सामाजिक र वातावरणिय हिसाले आकर्षक देखिएको छ । बुढीगण्डकी आयोजनामा २५४९.५५ मिलियन अमेरिकी डलर लगानी गरेर प्राप्त हुने ३३८३ गिगावाट आवर विद्युत् र यो आयोजनामा १२,१७.३० मिलियन अमेरिकी डलर लगानी गरेर वार्षिक प्राप्त हुने ३३५४ गिगावाट आवर विद्युत् उही हुनुले पनि यो अयोेजना कति आकर्षक छ भन्ने स्पष्ट हुन्छ । यो आयोजनाको आन्तरिक प्रतिफल दर १५.७३% यो आयोजनाकोबाट डुबान पर्ने ३७.६ मे.वा. को कावेली ए को कुल वार्षिक विद्युत् उत्पादन २०२.५ गिगावाट र तल्लो हेवा २१ मे.वा.को कुल वार्षिक विद्युत् उत्पादन ११६.३ गिगावाट घटाएर आएको हो । यसले यो आयोजना बनेपछि यि अयोजनाबाट उत्पादन हुने विद्यूत्को क्षतिपुर्ति ति आयोजनाहरुलाई वार्षिक रुपमा उपलब्ध गराउँदा समेत आर्थिक रुपले आकर्षक यो आयोजना निर्माणले एक नम्बर प्रदेशको संवृद्धिको ढोका खुल्दछ । त्यसैले सरकारले तत्काल यो आयोजना निर्माण कार्य अगाडि बढाउन एक नम्बर प्रदेशका स्थानीयको माग रहेको छ ।
( उर्जा क्षेत्रमा लामाे समयदेखि कार्यरत दुलाल नेकपा एमाले जल तथा उर्जा केन्द्रिय विभागका सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij