२०८३ साउन ११ सोमबार

तयार भयो घर, पहिचान भएनन् गरिब

ई आर्थिक    आइतबार, चैत्र २७ २०७३
5.6K
Shares
तयार भयो घर, पहिचान भएनन् गरिब

खिलक बुढाथाेकी, चैत २७, काठमाडौं । छुट्टाछुट्टै आवास एकाइ (फ्ल्याट)। प्रत्येक एकाइमा एउटा बेडरुम, एउटा भान्छा, शौचालय र बैठक कोठा। साथमा बाल्कोनी पनि।

सँगै टाँसिएका पाँचतले तीनवटा भवन (अपार्टमेन्ट)। ती भवनमा एक सय २४ आवास एकाइ (फ्ल्याट) छन्। एउटा आवास एकाइमा तीनचारजनाको परिवार सुविधासम्पन्न हिसाबले बस्न मिल्छ। तलतिर एउटा बगैंचा र सामुदायिक हलका साथै गाडी पार्किङ सुविधा पनि छ।

सहुलियत दरमा भाडा वा निश्चित समयका लागि एकमुष्ठ रकम लिएर अपार्टमेन्ट प्रयोग गर्न दिने मापदण्ड तयार भएको छ तर कसका लागि, कसरी कार्यान्वयनमा ल्याउने अन्योल छ।

नागार्जुन नगरपालिका रानीवन इचंगुनारायणमा सहरी गरिब तथा न्यून आय भएका परिवार लाई बस्न बनाइएका अपार्टमेन्ट हुन् यी। विडम्बना, डेढ वर्षअघि सहरी विकास मन्त्रालयले निर्माण सम्पन्न गरेको उक्त अपार्टमेन्टमा गरिब तथा न्यून आय भएकाको पहिचान गर्न नसक्दा प्रयोगविहीन भएर बसको छ।

‘अपार्टमेन्ट शैलीमा पहिलो चरणको नमुना भवन निर्माण सम्पन्न गरिसकेका छौं,’ सहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक शिवहरि शर्माले भने, ‘तर लक्षित वर्ग पहिचान गर्न नसक्दा भवन सञ्चालनमा आउन सकेको छैन।’ उनका अनुसार सहुलियत दरमा भाडा वा निश्चित समयका लागि एकमुष्ठ रकम लिएर दिने मापदण्ड तयार भएको छ। तर, मापदण्ड कसका लागि, कसरी कार्यान्वयनमा ल्याउने भन्ने अन्योल नै छ। ‘गरिब तथा न्यून आय भएकाको कसरी पहिचान गर्ने भन्ने अन्योल छ,’ महानिर्देशक शर्माले भने, ‘अब भने कार्यविधि बनाएर चाँडै नै सहरी गरिब तथा न्यून आय भएका परिवार पहिचान गरी आवास प्रयोगमा ल्याउनेछौं।’

गरिब तथा न्यून आय भएकाको पहिचान र भवन सञ्चालनको जिम्मा भने काठमाडौं उपत्यका विकास प्राधिकरणलाई दिइएको छ। प्राधिकरणले कसरी पहिचान गर्ने भन्ने विषयमा गृहकार्य गरिरहेको शर्माले जानकारी दिए। ‘भवनमा बस्नेका लागि दुईवटा मापदण्ड बनाएका छौं,’ प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारले भने, ‘तर गरिब पहिचान कसरी गर्ने भन्ने अन्योल छ।’ अन्योल हटाएर चाँडै नै एकै खालको खाका ल्याउने तिवारीले बताए।

भवन चार रोपनी तीन आना जग्गामा फैलिएको छ। करिब २० प्रतिशत जग्गामा हरित उद्यान र एउटा सामुदायिक हल निर्माण गरिएको छ। यो पहिलो चरणमा निर्माण सम्पन्न भएको भवन हो। सँगै अर्को तीन रोपनी चार आनामा पनि उस्तै प्रकारको भवन निर्माणाधीन रहेको भवन डिभिजन कार्यालय काठमाडौंका प्रमुख वसन्त राईले जानकारी दिए। ‘पहिलो चरणको भवन डेढ वर्षअघि नै निर्माण सम्पन्न गरिसकेका छौं। दोस्रो चरणका भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ,’ राईले भने, ‘यसै आर्थिक वर्षभित्र निर्माण सक्ने लक्ष्य राखेर काम गरिरहेका छौं।’ उनका अनुसार अहिले निर्माणाधीन भवनमा सम्पन्न भइसकेको भवनजस्तै सुविधासम्पन्न एक सय तीन आवास एकाइ हुनेछन्।

पहिलो चरणको भवन निर्माणमा करिब ६ करोड रुपैयाँ लागेको थियो। दोस्रो चरणको निर्माणाधीन भवनको बजेट चार करोड लाग्ने अनुमान छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij