२०८३ साउन १२ मंगलबार

टेलिकमको सेवा प्रभावकारी नहुँदा स्वास्थ्य सेवा प्रभावित, भारतीय मोबाइल प्रयोग गर्न बाध्य

ई आर्थिक    सोमबार, चैत्र २१ २०७३
4.8K
Shares
टेलिकमको सेवा प्रभावकारी नहुँदा स्वास्थ्य सेवा प्रभावित, भारतीय मोबाइल प्रयोग गर्न बाध्य

२१ चैत, बैतडी । नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुने गरेका छन् ।

जिल्लाको दुर्गम पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिकाका अधिकांश वडामा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यस क्षेत्रका स्वास्थ्य सेवा प्रभावित हुने गरेका छन् ।

नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा स्वास्थ्य सेवा प्रभावित हुने गरेको शिवनाथ गाउँपालिका–१ शर्माली गौशल्ला सुरक्षित प्रसूति केन्द्रकी अनमी यशोदा साउदले बताउनुभयो ।

नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा समस्या हुने गरेका छन्, उहाँले भन्नुभयो – “गर्भवती तथा सुत्केरी महिलाको उपचारका क्रममा आवश्यक सल्लाह लिन सम्बन्धीत चिकित्सकसँग फोनमा सल्लाह लिन नसक्दा समस्या हुने गरेका छन् ।”

भौगोलिक विकटता भएको शर्मालीमा भारतीय मोबाइल बढी प्रयोग हुने गरेका छन्, शर्माली स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश चन्दले भन्नुभयो – “नेपाली नेटवर्कले काम नगर्दा भारतीय मोबाइलको प्रयोग गर्नुपर्ने यहाँ बाध्यता छ ।”

टेलिकमले पछिल्लो समय विभिन्न ठाउँमा टावर राखी सेवा विस्तार गर्न थाले पनि काम सम्पन्न नहुँदा तल्लोस्वराडका स्थानीय बासिन्दा फोन सेवाबाट वञ्चित भएको साविकको शर्माली गाविसका सचिव हरिसिंह विष्टले बताउनुभयो ।

भारतीय मोबाइल प्रयोग गर्न बाध्य

नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा तल्लोस्वराड क्षेत्रका बासिन्दा भारतीय मोबाइल प्रयोग गर्न बाध्य भएका छन् ।

साविकको आम्चोरा, कुलाउ, शिवनाथ, रोडिदेवल, महारुद्रलगायत गाविसका स्थानीय बासिन्दा अझै पनि भारतीय मोबाइल प्रयोग गर्न बाध्य भएका हुन् ।

यस क्षेत्रमा नेपाली फोनले काम गर्न थाले पनि अधिकांश ठाउँमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड फोन सेवाले काम नगर्ने उदयदेवका स्थानीय बासिन्दा वीरेन्द्र महताले बताउनुभयो ।

नेपाल टेलिकमका कुनै पनि मोबाइलले काम नगर्दा यहाँ वासिन्दा भारतीय मोबाइलको प्रयोग गर्न बाध्य भएको शिवनाथ गाउँपालिका–१ की रेखा साउदले बताउनुभयो । उहाँले भन्नुभयो – “गाउँमा सबैले भारतीय मोबाइल प्रयोग गर्ने गरेका छौँ ।”

भारतसँग सीमा जोडिएको तल्लोस्वराड क्षेत्रमा नेपाल टेलिकमले प्रभावकारी सेवा दिन नसक्दा स्थानीय बासिन्दा भारतीय मोबाइल प्रयोग गर्न बाध्य भएका हुन् ।

नेपाल टेलिकमको सेवा नै प्रभावकारी नहुँदा सबैले भारतीय मोबाइल प्रयोग गर्ने गरेको स्थानीय बासिन्दा पुष्कर साउदले बताउनुभयो । उहाँले भन्नुभयो – “नेपाली मोबाइलको नेटवर्क आउँदैन ।” रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij