२०८३ साउन १२ मंगलबार

धुलोधुवाँले छालालाई गम्भीर असर पार्ने

ई आर्थिक    शनिबार, चैत्र १९ २०७३
6.6K
Shares
धुलोधुवाँले छालालाई गम्भीर असर पार्ने

१९ चैत, काठमाडौँ । बढ्दो धुलोधुवाँले छालालाई गम्भीर असर पार्नसक्ने भएकाले सचेत रहन छाला रोग विशेषज्ञले सल्लाह दिएका छन् ।

नेपालमा छाला विशेषज्ञको छाता सङ्गठन नेपाल चर्म, यौन तथा कुष्ठ रोग समाज नेपालले विश्व छाला स्वास्थ्य दिवस र समाजको स्थापना दिवस पारेर पहिलो पटक नेपालमा विश्व छाला दिवस मनाउने क्रममा छालामा साधारण समस्या आए पनि छाला विशेषज्ञलाई देखाउन आग्रह गरेका हुन् ।

छाला रोगबारे सचेत गराउने उद्देश्यले ‘अन्तर्राष्ट्रिय लिग अफ ड्रम्याटोलोजिकल’को आह्वानमा हरेक मार्च २९ तारिखलाई विश्व छाला स्वास्थ्य दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘छालालाई माया गराँै, स्वस्थ रहौँ” रहेको छ ।

काठमाडौँ मेडिकल कलेजका सहप्राध्यापक तथा समाजका सदस्य वरिष्ठ छाला रोग विशेषज्ञ डा सविना भट्टराईले नेपालमा स्वास्थ्य संस्थामा बहिरङ सेवामा उपचार गराउन आउने बिरामीमध्ये २० देखि ३० प्रतिशत बिरामी छालाका हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “धेरैले छालाका समस्यालाई गम्भीर रुपमा नलिने गरेकाले छालामा विभिन्न एलर्जी हुने, दागधब्बा आउने, उमेरभन्दा बुढो देखिने, चाउरी पर्ने, अनुहार तथा कपाल सुक्खा हुने र छालाको सौन्र्दयपन हराएर जानेजस्ता समस्या देखिने गर्छ । समस्या बढ्दै गएमा छालाको क्यान्सर देखिन सक्छ ।”

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका पूर्वचर्म तथा यौन रोग विभाग प्रमुख वरिष्ठ छाला रोग विशेषज्ञ प्रा डा दिनेशविनोद पोखरेलले वातावरणीय प्रदूषण, अस्वस्थकर खानपान, जथाभावी औषधिको प्रयोग लगायतका कारणले छालाका समस्या बढाएको बताउनुभयो ।

“दाद, सङ्क्रमण, डण्डीफोर, चायाँपोतो, कत्ले रोग, दुवीलगायतका समस्या बढी देखिन्छन् । छालाको क्यान्सरका कारण कतिपयको मृत्यु भइरहेको छ तर यसबारे जानकारी हुनसकेको छैन ।” सुन्दरता बढाउन र सामान्य ठानेर आफैँ औषधि, बजारमा पाइने जुनसुकै क्रिम, लोसन प्रयोग नगरी छाला विज्ञको सल्लाहमा आफ्नो छालालाई स्वस्थ राख्न छाला विज्ञले सल्लाह दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij