२०८३ साउन १२ मंगलबार

बाख्रापालनबाट ‘नमुना उद्यमी’

ई आर्थिक    बुधबार, चैत्र ९ २०७३
4.7K
Shares
बाख्रापालनबाट ‘नमुना उद्यमी’

९ चैत, बागलुङ । अठार वर्ष प्रवासमा बिताएर घर फर्कनुभएका काठेखोला गाउँपालिका–४ का रनबहादुर थापाको परिचय अहिले नुमना उद्यमीमा फेरिएको छ ।

५३ वर्षीया थापाले १० वर्षअघि एउटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले व्यवस्थित ‘फार्म’ मा परिणत भएको छ । थापाले बनाएको ‘नमुना बाख्रापालन फार्म’ मा हाल ३५ वटा बाख्रा छन् । मासिक पाँच÷छ वटा बाख्रा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

“वार्षिक रु दुई लाखसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । रु दुई लाख ५० हजारको लगानीमा सुरु गरेको बाख्रापालन सफल भएपछि थापाले माछापालन, तरकारीखेती र मौरीपालन समेत सुरु गर्नुभएको छ ।

कृषि कर्मबाटै थापाले घरपरिवारको खर्च चलाउँदै आउनुभएको छ । उहाँले खोर मर्मतका लागि जिल्ला पशुसेवा कार्यालयबाट रु २० हजार अनुदान पाउनु भएको छ । थापाको बाख्रापालन फार्मलाई जिल्लाकै नमुना मानिन्छ । उहाँले आधुनिक र व्यवस्थित खोरमा बाख्रापालन गर्दै आउनुभएको छ । थापाको फार्ममा उन्नत जमुनापारि क्रस र स्थानीय खरी जातका बाख्रा, बोका र खसी छन् ।

एउटै बोका रु ११ हजारदेखि र रु २५ हजारसम्ममा बिक्री गर्ने गरेको थापाले बताउनुभयो । साना पाठापाठी भने रु तीन हजारदेखि रु चार हजारसम्ममा बिक्री हुने गरेका छन् । थापालाई हेफर इन्टरनेसनलले केही वर्षअघि छवटा बाख्रा किन्न बिना ब्याज ऋण उपलब्ध गराएको थियो ।

सोही परियोजनाबाट नश्ल सुधारको लागि रु १२ हजार मूल्यको उन्नत जातको बोका पनि थापाले प्राप्त गर्नुभएको छ । नश्ल सुधारका लागि फार्ममा उन्नत जातको बोका पाल्ने गरेको थापाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij