२०८३ साउन ९ शनिबार

मृतक चारैजनाको भोलि शवयात्रा

ई आर्थिक    शुक्रबार, फाल्गुन २७ २०७३
3.9K
Shares
मृतक चारैजनाको भोलि शवयात्रा

राजविराज, २७ फागुन । प्रहरीको गोली लागेर मृत्यु भएका चारै जनाको शवलाई मधेसी मोर्चा, सप्तरीले शव बुझेर भोलि सिरहाको लहानसम्म शवयात्रा गर्ने भएको छ ।

राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बिहीबार बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सर्वपक्षीय बैठकले शव ल्याउने निर्णय गरेको मोर्चाका तर्फबाट राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डल (अनुराग)ले बताउनुभयो ।

साथै, सोमबार सप्तरीमा भएको घटनामा प्रहरीको गोली लागेर ज्यान गुमाएकालाई सहिद घोषणा, मृतक परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उपचार खर्च, मृतक परिवारमध्ये एकजना सदस्यलाई जागिरको व्यवस्था सहितका मोर्चाले अघि सारेका मागलाई स्थानीय प्रशासनले गृह मन्त्रालयलाई सिफारिस गर्ने बैठकले निर्णय गरेको सचिव मण्डलले जानकारी दिनुभयो ।

नेकपा (एमाले)को मेची–महाकाली अभियान कार्यक्रमअन्तर्गत एमालेले राजविराजस्थित गजेन्द्रनारायण सिँह औद्योगिक क्षेत्रमा आयोजना गरेको सभालाई बिथोल्ने क्रममा सोमबार प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर सप्तरी मलेठ–२ बस्ने २५ वर्षीय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल, मलेठ–४ का वीरेन्द्र महतो र प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षीय सिनियर अहेव आनन्दकुमार साहको मृत्यु भएको थियो ।

उनीहरुको शवपरीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराई शनिबार राजविराजदेखि लहानसम्म शवयात्रा गर्ने निर्णयसमेत भएको बताइएको छ । लहानबाट पुनः मलेठ ल्याई तीनजनाको मलेठमै औद्योगिक क्षेत्र नजिक र प्रसवनीका साहको प्रसवनीमै दाहसंस्कार गरिने पनि मण्डलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij