२०८३ साउन ९ शनिबार

सप्तरी घटनाको जिम्मेवारी मोर्चाले लिनुपर्छ : एमाले

ई आर्थिक    मंगलबार, फाल्गुन २४ २०७३
4.1K
Shares
सप्तरी घटनाको जिम्मेवारी मोर्चाले लिनुपर्छ : एमाले

२४ फागुन, काठमाडौँ । नेकपा (एमाले) ले तराईका विभिन्न जिल्लामा आज एमालेका कार्यालय तोडफोड र कार्यकर्तालाई धम्की दिएकोमा आपत्ति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेको शान्तिपूर्ण अभियान बिथोल्न खोजेकाले सप्तरी घटनाको सम्पूर्ण जिम्मेवारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लिनुपर्ने जनाएको छ ।

महासचिव ईश्वर पोखरेलबाट जारी गरिएको प्रेस विज्ञप्तिमा एमालेको अभियानमा संलग्न नेता, कार्यकर्ता सवार गाडीमा आक्रमण तथा जुत्ता प्रहार, तुल ब्यानर च्यात्ने र कालो झन्डा प्रदर्शन कार्य हुँदा पनि आफ्नोतर्फबाट संयमता अपनाइएको दाबी गरिएको छ ।

उहाँले सो घटना लोकतन्त्रविरुद्धको हमला हो भन्दै यस्ता कार्यबाट पार्टी पछि नहट्ने बताउनुभयो । “संविधान, विश्वव्यापी मान्यता र लोकतान्त्रिक अभ्यास विपरीत प्रमुख प्रतिपक्षका कार्यक्रम बिथोल्ने र आतङ्क सिर्जना गरेर मधेसी मोर्चाका कार्यकर्ताले अराजक गतिविधि गरेकाले त्यहाँ भएको मानवीय क्षतिको जिम्मेवारी मोर्चाले लिनुपर्छ”– विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ –“राजविराज घटना नेपाली समाजको सद्भावलाई खल्बल्याएर हिंस्रक बनाउन उद्दत देखिन्छ, घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कारबाही गर्न हामी माग गर्दछौँ ।” शान्तिपूर्ण सभा सम्मेलन गर्न पाउने अधिकार कुण्ठित गरी आफ्ना नेताहरुको सामूहिक हत्याको प्रयाससमेत भएको जनाउँदै एमालेले राष्ट्रिय मानवअधिकार आयोगलाई पनि छानबिन गर्न आग्रह गरेको छ ।

सप्तरीमा सोमबार भएको हिंसात्मक घटनापछि एमालेले आफ्नो मेची–महाकाली अभियान तीन दिनका लागि स्थगन गरेको थियो भने यही फागुन २७ गतेबाट पूर्ववत् कार्यक्रम जारी रहने जनाइएको छ ।

एमालेका उपाध्यक्ष भीमबहादुर रावलले एमालले तनाव सिर्जना नहोस् भनेर सरकार र मोर्चाका उच्च नेतृत्वसँग निरन्तर संवादमा रहँदै संयमता अपनाएर कार्यक्रम स्थल र सवारी यात्राको रुट परिवर्तन गर्दासमेत त्यस्तो घटना हुनु निन्दनीय हो भन्नुभयो । स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले निरशंकुताविरुद्ध लडेको पार्टी भएकाले आफूहरुले शान्तिपूर्ण प्रदर्शन र जनताको घरदैलामा जान पाउनुपर्ने भन्ने पक्षमा आफ्नो पार्टी दृढ रहेको उल्लेख गर्नुभयो ।

एमालेका सचिव योगेश भट्टराइले सप्तरी घटनाका सन्दर्भमा सञ्चारमाध्यमको व्यापक दुरुपयोग भएको टिप्पणी गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij